दुई तिहाइ सम्पत्ति १ प्रतिशत धनाढ्यको हातमा, उच्च कर लगाउन सुझाव
कोभिड-१९ महामारीपछि सिर्जना भएको सम्पत्तिमध्ये दुई तिहाइ हिस्सा संसारका १ प्रतिशत धनाढ्यको हातमा रहेको एक अध्ययनले देखाएको छ।
अन्तर्राष्ट्रिय संस्था अक्सफामले असमानता सम्बन्धी नयाँ प्रतिवेदन सार्वजनिक गर्दै कोभिड-१९ महामारीपछि थप फराकिलो भएको विश्वव्यापी असमानता कम गर्न तदारुकताका साथ कर नीति अघि सार्न सुझाव दिएको छ। महामारीपछि सिर्जना भएको सम्पत्तिको दुई तिहाइ हिस्सा १ प्रतिशत धनीको हातमा पुगेको पनि प्रतिवेदनमा औंल्याइएको छ।
सन् २०२१ को अन्त्यसम्म संसारका १ प्रतिशत धनीले २६० खर्ब अमेरिकी डलर आर्जन गरेका थिए। यो संसारभरि कुल सम्पत्ति आर्जन भएको ४२० खर्ब डलरमध्ये ६३ प्रतिशत हो। बाँकी रकम संसारभरिका ९९ प्रतिशतको हिस्सा हो।
अक्सफामले पछिल्लो अढाई दशकमा अत्यधिक धनको वृद्धिका साथ गरीबी पनि बढेको उल्लेख गरेको छ। यस विरुद्ध जुध्न धन कुवेरहरूमाथि थप कर लगाउन सुझाएको छ।
महामारीको आर्थिक प्रभावसँग जुध्न सरकार र केन्द्रीय ब्यांकले लिएका ब्याजदर घटाउने तथा नयाँ नोट छाप्ने विधिले सम्पत्ति र शेयरको मूल्य बढाएर धनीलाई थप धनी बनाउन सघाएको अक्सफामले जनाएको छ।
अक्सफामले आफ्नो प्रतिवेदनमा संसारका ९० प्रतिशत व्यक्तिले पछिल्लो दुई वर्षमा थप एक डलर सम्पत्ति आर्जन गर्दा अर्बपतिको भागमा औसत १७ लाख डलर (करीब २२ करोड २५ लाख रुपैयाँ) थपिएको छ। संसारभरिका धनी अर्बपतिहरूले महामारीपछिको अवधिमा औसतमा (एकीकृत) दैनिक दुई अर्ब ७० करोड डलर सम्पत्ति आर्जन गरेका छन्।
अक्सफामका प्रमुख कार्यकारी ड्यानी श्रीसकन्डाराजहले अहिलेको आर्थिक स्थिति मानवीय मूल्यको अपमान भएको बताएका छन्। “पछिल्ला अढाई दशकमा पहिलो पटक चरम गरीबी अत्यधिक बढेको छ र करीब एक अर्ब व्यक्ति भोकै छन्। अर्कातिर, अर्बपतिका लागि हरेक दिन वरदान सावित भएको छ,” श्रीसकन्डाराजले भने। उनले सरकारहरूलाई तुरुन्त अर्बपतिमाथि उच्च कर लगाउन सुझाव दिएका छन्।
संसारभरि खाद्यान्न र ऊर्जाको मूल्य बढिरहँदा सन् २०२२ मा खाद्यान्न र ऊर्जासँग सम्बन्धित ९५ कर्पोरेशनहरूको नाफा अघिल्लो वर्षभन्दा दोब्बरले बढेको अक्सफामले जनाएको छ। अक्सफामले सम्पत्ति निश्चित व्यक्तिहरूमा थुप्रिंदा विकास कमजोर हुने, राजनीति र मिडियाको भ्रष्टीकरण हुने, राजनीतिक ध्रुवीकरण बढ्ने तथा लोकतन्त्रमाथि नै चुनौती थपिने उल्लेख गरेको छ।
अक्सफामले सम्पत्तिको पुनर्वितरणका लागि तत्काल उच्च धनाढ्य १ प्रतिशतमाथि अप्रत्याशित उच्च कर लगाउन सुझाव दिएको छ। दीर्घकालीन रूपमा पनि अर्बपतिहरूमाथि उच्च कर लगाउन सुझाइएको छ।
अक्सफामले कर राजस्वको ४ प्रतिशत मात्रै सम्पत्ति करबाट संकलन भइरहेको तथा संसारभरिका धनाढ्यमध्ये आधा जति पुर्ख्यौली सम्पत्तिमा कर नलाग्ने मुलुकहरूमा बसिरहेको उल्लेख गरेको छ। पुर्ख्यौली सम्पत्तिको हस्तान्तरणमा कर नलाग्ने मुलुकमा धनीको सम्पत्ति उनीहरूका छोराछोरीले विना कर विरासतका रूपमा पाउँछन्।
अक्सफामका अनुसार, संसारभरिका धनाढ्यलाई ५ प्रतिशतसम्म थप कर लगाउँदा एक वर्षमा करीब १७ खर्ब अमेरिकी डलर संकलन हुन सक्छ। यो रकमले दुई अर्ब गरीबलाई गरीबीको भासबाट माथि तान्न पर्याप्त हुने तथा संसारभरिको भोक मेटाउन पुग्ने प्रतिवेदनमा उल्लेख गरेको छ।