अर्थतन्त्रको बाह्य क्षेत्र सुधारोन्मुख, मूल्यवृद्धि ७.३८ प्रतिशत
देशमा भित्रिनेभन्दा बाहिरिने रकम धेरै भएर गत वर्ष अप्ठ्यारोमा परेको अर्थतन्त्र पछिल्ला महीनामा सुधारोन्मुख देखिएको छ।
नेपाल राष्ट्र ब्यांकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार, मंसीरसम्म देशको भित्रिने र बाहिरिने रकमबीचको अन्तर शोधनान्तर स्थिति ४५ अर्ब ८७ करोड रुपैयाँले बचतमा पुगेको छ। यो अघिल्लो वर्षको यही अवधिमा एक खर्ब ९५ अर्बले घाटामा थियो।
केन्द्रीय ब्यांकका अनुसार, देशको बाहिरिने रकमको क्षयीकरण घटेका कारण विदेशी मुद्राको सञ्चितीमा परेको चापमा पनि सुधार भएको छ। मंसीरसम्म विदेशी मुद्राको सञ्चिती नौ अर्ब ८२ करोड अमेरिकी डलर पुगेको छ। यो कात्तिकमा नौ अर्ब ६३ करोड अमेरिकी डलर थियो। यो रकमले आठ महीना २१ दिनको वस्तु र सेवाको आयात गर्न थेग्छ।
गत वर्ष उच्च आयातका कारण विदेशी मुद्रा तीव्र गतिमा घटेपछि सरकारले सवारी साधनसहित कयौं वस्तुको आयातलाई रोकेको थियो। आयात प्रतिबन्ध अहिले फुकुवा भइसकेको छ। केन्द्रीय ब्यांकले आयात निरुत्साहित गर्न गरेको कडाईको प्रबन्ध भने कायमै छ।
प्रतिवेदनले देशको चालू खाता भने ३७ अर्ब ९१ करोड रुपैयाँले घाटामा रहेको देखाएको छ। यो गत वर्षको यही अवधिमा दुई खर्ब ९८ अर्बले घाटामा थियो।
मंसीरसम्म चार खर्ब ८० अर्ब ५० करोड बराबरको रेमिटेन्स भित्रिएको छ। यो गत वर्षको यही अवधिका तुलनामा २३ प्रतिशत धेरै हो। अमेरिकी डलरमा रेमिटेन्स आप्रवाह १३.१ प्रतिशत बढेको छ। रेमिटेन्सको आप्रवाह बढ्दा देशको विदेशी मुद्राको सञ्चितीमा सुधार हुन्छ, जसले देशको बाह्य क्षेत्रको सन्तुलनमा आत्मविश्वास थप्छ।
यो वर्षको पहिलो पाँच महीनामा नेपालले ६ खर्ब ६४ अर्ब ७५ करोडको वस्तु आयात गरेको छ। बितेको वर्षको यही अवधिका तुलनामा आयात २०.७ प्रतिशत घटेको हो। बितेको वर्ष यही अवधिमा ५९.५ प्रतिशतले आयात बढ्दा देशको समग्र आर्थिक प्रणाली नै हल्लिनपुगेको थियो।
देशमा आर्थिक क्रियाकलापको सुस्तता तथा सरकारले आयात निरुत्साहनको नीति समातेका कारण आयात खस्किएको हो। यो अवधिमा निर्यात पनि ३४.६ प्रतिशतले घटेर ६७ अर्ब ३० करोडमा सीमित भएको छ। आयात खुम्चिएकाले मंसीरसम्म व्यापार घाटा पनि पाँच खर्ब ९७ अर्बमा सीमित भएको छ। यो गत वर्षको यही अवधिभन्दा १८.८ प्रतिशत कम हो।
मंसीरमा उपभोक्ता मूल्यवृद्धि दरमा पनि केही सुधार भएको छ। प्रतिवेदनका अनुसार कात्तिकमा अघिल्लो वर्षभन्दा ८.८ प्रतिशत बढेको उपभोक्ता मूल्यवृद्धि दर मंसीरमा ७.३८ प्रतिशतले बढेको देखिएको छ। यद्यपि, यो वृद्धिदर पनि उच्च नै हो।
मंसीरमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ५.८५ प्रतिशत र गैर खाद्य तथा सेवा समूहको मूल्यवृद्धि ८.५९ प्रतिशत देखिएको छ। खाद्य समूहको मूल्यवृद्धि दर घट्दा न्यून आय भएका समूहलाई लाभ पुग्छ।