‘दलित समुदायका विषयवस्तु पाठ्यक्रममा समावेश गर्नुपर्छ’
दलित समुदायका व्यक्तिले समाजमा पुर्याएको योगदानको विषयलाई विद्यालय तथा विश्वविद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन्।
जागरण मिडिया सेन्टरले आइतबार आयोजना गरेको ‘विश्वविद्यालयको पत्रकारिता शिक्षामा समावेशिता’ विषयक अन्तरक्रियामा सहभागीहरूले दलित समुदायका व्यक्तिले समाजमा पुर्याएको योगदानलाई पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिएका हुन्।
कार्यक्रममा बोल्दै विवेकशील साझा पार्टीका नेता प्रकाशचन्द्र परियारले टीआर विश्वकर्मा, बिसे नकर्ची, मणिराम गाइने, बखतवीर बुढा, दिव्यविक्रम परियार, भगत सर्वजित लगायतको जीवनी माध्यमिक विद्यालयको पाठ्क्रममा समावेश गर्नुपर्ने बताए। परियारले भने, “समाज बुझ्नको लागि इतिहासको अध्ययन जरुरी भएकाले दलित समुदायका वीरताको गाथा पनि पाठ्यक्रम, शोधपत्र, सिनेमा, लेखमा आउनुपर्छ।”
त्यस्तै, प्राध्यापक एवं लेखक कुन्दन अर्यालले पत्रकारिता विषयमा स्नाकोत्तर तहमा पढाइने ‘इन्टरकल्चरल कम्युनिकेशन’मा यस्ता विषय समावेश गर्दा नयाँ पुस्ताको दृष्टिकोणमा परिवर्तन आउने बताए। “दलितको इतिहास, योगदानलाई पाठ्यक्रम समावेश गर्दा हाम्रो समाजको असली विषयवस्तु समावेश हुन्छ,” अर्यालले भने।
त्रिवि पत्रकारिता केन्द्रीय विभागका प्रमुख प्राध्यापक चिरञ्जिवी खनालले विकराल अवस्थामा रहेको जातीय भेदभाव तथा छुवाछुत न्यूनिकरणमा दुई पुस्ता लाग्नुपर्ने बताए। यसका लागि पाठ्यक्रममा पनि दलित समुदायका विषय समावेश गरेर नयाँ पुस्तालाई चेतनशील बनाउनुपर्ने बताए।
त्यस्तै, अनुसन्धाता एवं दलित अधिकारकर्मी जेबी विश्वकर्माले केहि कलेजले समावेशीकरणको अभ्यासलाई प्रवद्र्धन गरेको उल्लेख गर्दै प्रसंशा गरे। दलित समुदायले हरेक क्षेत्रबाट समाजलाई योगदान दिएको बताउँदै विश्वकर्माले भने, “दलित समुदायका विषय मिहिन ढंगले अध्ययन गरेर पाठ्यक्रममा समावेश गरिनुपर्छ, कक्षाकोठा खुला छलफल गर्नुपर्छ।”