नतिसरा राई र भारती विद्या राजपूतलाई कमला भासिन पुरस्कार
नेपालकी नतिसरा राई र भारतकी विद्या राजपूतले कमला भासिन पुरस्कार प्राप्त गरेका छन्। भारतको नयाँ दिल्लीमा आयोजित कार्यक्रममा लैङ्गिक समानताका लागि स्थापित उक्त पुरस्कार प्रदान गरिएको हो।
राई शक्ति मिलन समाजकी कार्यकारी निर्देशक हुन्। उक्त संस्थाले नेपालका एचआईभी संक्रमित एक हजार महिलाको स्वास्थ्य, साक्षरता, जीविकोपार्जन र शिक्षामा सहयोग गर्दै आएको छ।
राईलाई १३ वर्षकै उमेरमा मानव तस्करले भारत पुर्याई यौनकर्ममा लाग्न बाध्य पारेका थिए। एचआईभी संक्रमित भएपछि उद्धार गरिएपछि पनि उनी निरन्तर सामाजिक बहिष्करणमा परिरहिन्। यद्यपि, राईले पीडितहरूको पक्षमा निरन्तर आवाज उठाउँदै आइन्।
अर्की पुरस्कार विजेता विद्या राजपूत भारतको छत्तिसगढकी ‘ट्रान्सवुमन’ हुन्। उनले सन् २००९ मा मितवा नामक संस्था स्थापना गरेकी थिइन्। उक्त संस्थाले ‘ट्रान्सवुमन’ हरूलाई संगठित गर्दै उनीहरूको अधिकारबारे सुसूचित गराउने र तिनका अधिकारको पक्षमा वकालत गर्ने गर्दछ।
पछिल्ला वर्षहरूमा वकालत र तालीम सञ्चालन गर्दै विद्याले मानिसको जीवनमा परिवर्तन ल्याएकी छिन्। राज्यको नीति निर्माण तहमा पनि हस्तक्षेप गर्न सफल भएकी छिन्।
यो पुरस्कार चर्चित महिला अधिकारीवादी लेखिका कमला भासिनको नाममा स्थापना गरिएको हो। उनी शिक्षासेवी तथा महिला अधिकारवादीका रूपमा दक्षिणएशियामा चर्चित छिन्। उनी विश्वभरका धेरै संस्था तथा अभियानमा संलग्न भएकी छन्। उनले स्थापना गरेको संगत नामक संस्थाले दक्षिणएशियाका महिलाहरूको सञ्जालका रूपमा काम गर्छ। अर्को संस्था जगोरी भारतमा महिला अधिकारबारे काम गर्ने गैरसरकारी संस्था हो।
कमला भासिन पुरस्कारले दक्षिणएशियाका अफगानिस्तान, बाङ्लादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंकालाई समेट्छ। पुरस्कारका लागि आठै वटा देशबाट मनोनयन माग गरिएको थियो र जम्मा ६४ वटा मनोनयन प्राप्त भएका थिए।