पाँचथरमा एमालेका वसन्त नेम्बाङ विजयी
पाँचथरबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले)का वसन्तकुमार नेम्बाङ पुनः निर्वाचित भएका छन्।
नेम्बाङले सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेलाई ४७ मतान्तरले पराजित गरेका हुन्। नेम्बाङले ३२ हजार ११० मत र आङदेम्बेले ३२ हजार ६३ मत प्राप्त गरेका छन्।
नेम्बाङ पाँचथरबाट २०४८, २०५६ र २०७४ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भइसकेका छन्। नेम्बाङ २०७४ सालमा पनि आङदेम्बेलाई हराउँदै प्रतिनिधि सभा सदस्य बनेका थिए।
प्रदेश सभा सदस्यमा क्षेत्र नं ‘क’ मा गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जबेगू निर्वाचित भएका छन्। उनले एमालेका जिल्ला अध्यक्ष राजकुमार भण्डारीलाई ६३३ मतान्तर पराजित गरेका हुन्। जबेगूले १६ हजार ८३७ मत र भण्डारीले १६ हजार २०४ मत प्राप्त गरेका छन्।
क्षेत्र नं ‘ख’ मा गठबन्धनकै तर्फबाट नेकपा (माओवादी केन्द्र)का इन्द्रबहादुर आङबो निर्वाचित भएका छन्। उनले एमालेका अइन्द्रसुन्दर नेम्बाङलाई तीन हजार ६७ मतान्तरले पराजित गरेका हुन्। आङबोले १५ हजार ६७२ मत र नेम्बाङले १२ हजार ६०५ मत प्राप्त गरेका छन्।