बस्ती हटाउने निर्णयको सुकुम्बासीद्वारा विरोध, काठमाडौंमा प्रदर्शन गर्ने
बागमती लगायत नदी किनारका सुकुम्बासी बस्ती हटाउने निर्णय विरुद्ध भूमिहीनहरूले काठमाडौंमा प्रदर्शन गर्न लागेका छन्।
काठमाडौं महानगरपालिकासँगको समन्वयमा अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सुकुम्बासी बस्ती हटाउने निर्णय गरेको थियो। समितिले मंसीर ४ गतेभित्र बागमती लगायत काठमाडौंका नदी किनारका घर तथा टहरा खाली गर्न समय दिएको छ।
समितिले जारी गरेको सूचनामा तोकिएको समयभित्र खाली नगरे काठमाडौं महानगरको सहयोगमा घर तथा टहरा भत्काइने उल्लेख छ।
यसका विरुद्ध नेपाल महिला एकता समाज सहित २२ संस्थाले मंसीर १ गते दिउँसो साढे १२ बजे काठमाडौंमा प्रदर्शन गर्न लागेका हुन्। सुकुम्बासीको वैकल्पिक व्यवस्था नगरी घर तथा टहरा हटाउने निर्णय विरुद्ध प्रदर्शन गर्न लागिएको समाजले जनाएको छ।
भूमिहीनसँग सम्बन्धित संस्थाहरूले साङ्केतिक विरोधस्वरूप प्रदर्शन गर्न लागेको जनाएका छन्। उनीहरूले घर तथा टहरा भत्काउने निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।