टाटाको ईभी किन्न नबिल ब्यांकको ऋण सुविधा
टाटा मोटर्सको विद्युतीय सवारी साधन किन्ने ग्राहकले ८० प्रतिशतसम्म ऋण सुविधा पाउने भएका छन्।
टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी टे«डिङ र ऋण सुविधा उपलब्ध गराउने वित्तीय संस्था नबिल ब्यांकले यस सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। टाटा मोटर्सले नेक्सन ईभी र टिगोर ईभी कार नेपाली बजारमा बिक्री गरिरहेको छ। सम्झौता अनुसार, टाटाका विद्युतीय गाडी किन्दा नबिल ब्यांकले ग्राहकलाई ऋण उपलब्ध गराउनेछ।
नबिल ब्यांकका जुनसुकै शाखाबाट यस्ता ग्राहकलाई वार्षिक १२.९९ प्रतिशत ब्याजदरमा सात वर्षसम्मको ऋण उपलब्ध हुने छ। ऋण आवेदन दिएको २४ घण्टाभित्रै यस्तो ऋण उपलब्ध गराइने सिप्रदीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। उक्त सुविधाले टाटाका विद्युतीय सवारी किन्न खोज्ने ग्राहकलाई सुविधा र प्रोत्साहन दिएको कम्पनीको दाबी छ।
पछिल्ला वर्षहरूमा नेपालमा विद्युतीय निजी सवारी साधनको खरीद र प्रयोग बढिरहेको छ। विद्युतीय सवारी साधन प्रवर्द्धन गर्न सरकारले खनिज इन्धनमा आधारित सवारी साधनका तुलनामा विद्युतीय सवारीमा उल्लेख्य कर छूट दिँदै आएको छ।