बालिकाको शरीरमा ‘नरप्लान्ट’ प्रकरण: प्रहरीले अनुसन्धान नगरेपछि पीडितलाई काठमाडौं ल्याइयो
अनाथालयमा राखिएकी नाबालिकालाई यौनधन्दामा लगाइएको आरोपबारे रौतहट प्रहरीले तीन महीनासम्म अनुसन्धान नगरेपछि पीडित बालिकालाई राष्ट्रिय बालअधिकार परिषद्ले काठमाडौं ल्याएको छ।
बालिकालाई चार दिनअघि काठमाडौं ल्याएको परिषद्की कार्यक्रम व्यवस्थापक नमुना भुसालले बताइन्। रौतहटमा रहेको नेपाल-भारत मैत्री अनाथ आश्रममा राखिएकी बालिकाको शरीरमा गर्भनिरोधक अस्थायी साधन नरप्लान्ट भेटिएको, मनोपरामर्शकर्तासँग बालिकाले आफूलाई आश्रमले यौनधन्दामा लगाएको बताएपछि परिषद्ले साउन २६ गते प्रहरीलाई अनुसन्धान गर्न आग्रह सहित पत्र लेखेको थियो। तर, प्रहरीले भने जाहेरी नपरेको भन्दै अनुसन्धान नै गरेन।
“प्रहरीले अनुसन्धानमा चासो नदेखाएपछि हामीले पीडित बालिकालाई काठमाडौं ल्याउने निर्णय गरेका हौँ,” परिषद्की कार्यक्रम व्यवस्थापक भुसालले भनिन्।
अब दोषीलाई कारबाही गराउन पहिल गर्ने उनको भनाइ छ। “रौतहटको प्रहरीले अनुसन्धान नै नगरेपछि बालिकालाई काठमाडौं ल्याएर कानूनी उपचार खोज्नुपरेको हो,” उनले भनिन्।
गत साउन १० गते परिषद्को मधेश प्रदेश समन्वय कार्यालय, जिल्ला प्रशासन कार्यालय, गौर नगरपालिका र प्रहरीको टोलीले आश्रमबाट बालिकालाई उद्धार गरेको थियो। उद्धारमा प्रहरी सामेल भए पनि अनुसन्धान गर्न आनाकानी गरेर प्रहरीले दोहोरो भूमिका खेलेको आरोप छ।
जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनील मल्लले परिषद्को चिठीका भरमा मात्रै अनुसन्धान गर्ने/नगर्ने दोधारमा आफूहरू रहेको प्रतिक्रिया दिएका थिए।
बालिकालाई उद्धारपछि परिषद् मातहतको बारास्थित बाल हेल्पलाइनमा राखिएको थियो। भदौ २० गते प्रहरीको रोहबरमा बालिकाको शरीरबाट गर्भनिरोधक अस्थायी साधन निकालिएको थियो।
उद्धारपछि मनोसामाजिक परामर्शदाताले तयार पारेको डेढ पेजको रिपोर्टमा किशोरीमा बलात्करपछिको मानसिक पक्षाघातका लक्षण पनि देखिएको उल्लेख छ। परामर्शदातासँग बालिकाले आफूलाइ आश्रम सञ्चालकले आठ-नौ जनासँग यौनसम्बन्ध राख्न लगाउने गरेको र एक-दुई पटक बेहोस समेत भएको बताएकी थिइन्।
आश्रम सञ्चालिका प्रभा सिंह हुन्। आफू पत्रकार समेत रहेको र प्रहरीको बद्मासीबारे समाचार लेखेपछि आफूलाई फसाउन खोजेको उनले दाबी गरेकी थिइन्।
तीन महीनासम्म रौतहट प्रहरीले अनुसन्धान नगर्दा आरोपित पक्षले आफू अनुकूल प्रमाण जुटाउने प्रयास गरेको पनि पाइएको छ। परिषद्की व्यवस्थापक भुसालले नक्कली आमा खडा गरेर मुद्दा कमजोर बनाउन खोजेको आरोप लगाइन्।