उपचार अभावमा दुई सुत्केरीको मृत्यु
उपचार अभावमा हुम्लामा दुई जना सुत्केरीको मृत्यु भएको छ।
अदानचुली गाउँपालिका-५ काँखेकी २० वर्षीया रङ्गीता शाहीको कात्तिक १५ गते मृत्यु भएको हो। सुत्केरी हुन नसकेर रङ्गीताको मृत्यु भएको उनका आफन्त बलबहादुर शाहीले गुनासो गरे। काँखेबाट स्वास्थ्य संस्था पुग्न ६ घण्टा लाग्छ।
यस्तै‚ गत असोजमा चार दिनसम्म उच्च रक्तस्राव हुँदा सर्केगाड गाउँपालिका–७ की २४ वर्षीया पवित्रा शाही छत्यालको मृत्यु भएको थियो। स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि उनको गाउँमै मृत्यु भएको हो।
सरकारले कर्णालीका दुर्गम क्षेत्रका लागि एअरलिफ्टिङ हवाई एम्बुलेन्स दिने व्यवस्था गरे पनि उनीहरूको सुविधासम्पन्न अस्पतालमा नपुगी मृत्यु भएको हो। हुम्लामा यातायातको समस्या छ। हवाई यातायातको विकल्प छैन, तर जहाजको टिकट पाउन मुश्किल हुने गर्छ।- रासस