छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु
छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ। काठमाडौं‚ ललितपुर‚ चितवन र कास्कीमा एक एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीका अनुसार‚ काठमाडौंको नागार्जुन नगरपालिकामा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ४० वर्षीया कृष्ण गिरीको उपचारका क्रममा मनमोहन मेमोरियल अस्पतालमा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले बताएको छ।
त्यस्तै‚ ललितपुर महानगरपालिका–२८ हरिसिद्धि पेट्रोल पम्पस्थित सडकमा पानी ट्याङ्करको ठक्करबाट २५ वर्षीय पैदलयात्रीको मृत्यु भएको छ। ट्याङ्कर चालक प्रहरीको नियन्त्रणमा छन्।
त्यसै गरी चितवनमा मोटरसाइकल आफैं अनियन्त्रित भई लड्दा विपरीत दिशाबाट आएको ट्रकको ठक्करबाट १९ वर्षीया सकिल साहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुवै सवारी साधन तथा ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कास्कीको पोखरा महानगरपालिकाका अशोक पौडेलेको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ। मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका पौडेलको उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो।