शुरू भयो दशैं‚ आज घटस्थापना
आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइने बडादशैं शुरू भएको छ।
दशैंको पहिले दिन घर घरमा अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी जमरा राखिन्छ। घटस्थापनाको साइत बिहान १०:२३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। आज राखिएको जमरा विजयादशमीको दिन मान्यजनको हातबाट टीकासँगै ग्रहण गरिन्छ।
दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकका रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तबीज लगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रूपको नौ दिनसम्म पूजा आराधना गरिन्छ। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ।