डा. केसीको स्वास्थ्य जटिल बन्दै, जीवन रक्षाका लागि पहल गर्न अस्पतालको आग्रह
सत्याग्रहमा बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ।
शिक्षण अस्पतालले शनिबार अपराह्न प्रेस विज्ञप्ति जारी गरी डा. केसीको स्वास्थ्यबारे जानकारी दिएको हो। अस्पतालका उपचार व्यवस्था समितिका सदस्य सचिव रामविक्रम अधिकारीले जारी गरेको विज्ञप्तिमा डा. केसीको दिसामा रगत देखिन थालेको उल्लेख छ। उनको दिसामा रगत देखा परेको लगायतका समस्या उत्पन्न भएपछि शुक्रबार साँझदेखि आवश्यक उपचारका लागि अस्पतालको एनेक्स-१ भवनको बेड नं. ५०१ मा भर्ना गरिएको जनाइएको छ।
अस्पतालले भनेको छ, “श्वासप्रश्वास, रक्तचाप आदिमा केही परिवर्तन आउनुका साथै मांसपेशीहरू बाउँडिने, छाती दुख्ने, पेट दुख्ने समस्या देखा परेको छ।”
डा. केसीको स्वास्थ्य जटिल बन्दै गएकाले जतिसक्दो चाँडो समस्या समाधान गर्न अस्पतालले आग्रह गरेको छ। अस्पतालले भनेको छ, “उहाँको स्वास्थ्य अवस्था जटिल बन्दै गइरहेकाले जीवन रक्षाका लागि जतिसक्दो चाँडो समस्याको समाधान गर्न सम्बद्ध सबै निकाय समक्ष हार्दिक अनुरोध गर्दछौं।”
स्वास्थ्य सेवा सुधारका लागि यसअघि आफूसँग भएका सहमति कार्यान्वयन गर्न माग गर्दै डा. केसी १३ दिनदेखि सत्याग्रहमा छन्। गत भदौ २७ गते धनगढीमा सत्याग्रह शुरू गरेका डा. केसीको स्वास्थ्यमा समस्या आएपछि काठमाडौं ल्याइएको हो।
त्रिवि शिक्षण अस्पतालमा उनको उपचार चलिरहेको छ। उनले अस्पतालमै सत्याग्रह जारी राखेका छन्।