बाबुराम र म मिलेर अब नयाँ जनयुद्ध गर्छौं: दाहाल
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईसँग मिलेर नयाँ खालको जनयुद्ध गर्ने तयारीमा लागेको बताएका छन्।
नेसपाले दशैं लगायत चाडपर्वको अवसरमा शनिबार काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपालमा नयाँ खालको जनयुद्ध आवश्यक भएको जिकिर गरे। “हामी दुवैले अलग अलग प्रयोग गर्यौं, तर सफल भएन। हामी अलग अलग प्रयोग गर्न हिंड्दा प्राप्त उपलब्ध गुम्ने खतरा बढ्यो,” नेता भट्टराईतिर हेर्दै दाहालले भने, “अब नेपालमा समाजवादका लागि एउटा नयाँ खालको जनयुद्ध आवश्यक छ भन्ने निष्कर्षमा पुगेका छौं, हामी।”
साढे दुई दशकअघि सशस्त्र विद्रोह शुरू गर्दा पनि दुवै जनाले थुप्रै छलफल गरेको उनले उल्लेख गरे। अहिले पनि धेरै छलफल गरेर एक ठाउँमा उभिएको उनको भनाइ थियो। यो चुनावका लागि मात्रै नभएर नयाँखाले जनयुद्ध गर्नका लागि भएको दाहालले बताए।
“हामीले समाजवादका लागि एउटा नयाँ जनयुद्ध, पुरानो जनयुद्ध होइन, पुरानो त सम्भव पनि छैन,” दाहालले भने, “नयाँ खालको गोरेटो कोर्ने सङ्कल्प गरेपछि हामी एकै ठाउँमा केन्द्रित भएका हौं।”
देश विकासको नयाँ मोडल ल्याउने उनको भनाइ थियो। “यो देशलाई विकासको, समृद्धिको, समाजवादको नयाँ मोडल हामीले नै दिनुपर्छ, हामी नै दिन सक्छौं,” दाहालले भने।
भट्टराई र आफ्नो स्वभाव फरक फरक भए पनि एकअर्काको पूरक भएर काम गर्ने उनले बताए। “बाबुरामजी र मेरो बानीव्यहोरा र स्वभाव धेरै मिल्दैन। तर, दुवै एकअर्काको पूरक भएर अगाडि बढ्छौं,” दाहालले भने, “हिजो पनि एकअर्काको पूरक भएर आन्दोलनलाई यहाँसम्म ल्याएका हौं।”
उनले अब एक दशकमा केही गरेर देखाउने बताए। एक दशक सशस्त्र विद्रोह, एक दशक शान्ति प्रक्रिया र एक दशक अलग अलग बसेर भट्टराई र आफूले प्रयोग गरेको उनको भनाइ थियो।
अबको एक दशक दुवै जना मिलेर काम गर्ने बताउँदै दाहालले भने, “अब हाम्रो जीवनको धेरै समय बाँकी छैन। हामीले हिसाब गरेका छौं, बढीमा एक दशक। यो एक दशकमा देश र जनतालाई सम्झनलायक केही दिएर जान्छौं।”