डा. केसीको स्वास्थ्य अवस्था जटिल, अन्यत्र सार्न सेती अस्पतालको सुझाव
सत्याग्रहमा बसिरहेका प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको भन्दै सेती प्रादेशिक अस्पताल धनगढीले अन्यत्र सार्न सुझाव दिएको छ।
अस्पतालले सुदूरपश्चिम मानव अधिकार आयोग, सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र संघीय स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरी केसीलाई सुविधासम्पन्न अस्पताल लैजान सुझाव दिएको छ। केसीको मांसपेशी सुक्दै गएको र अल्सर भई आन्तरिक रक्तस्रावको शङ्का भएकाले थप जटिलता हुन नदिन बहुविशेषज्ञ भएको विशिष्टीकृत अस्पतालमा स्थानान्तरण गर्न आग्रह गरिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। डा. केसीको स्वास्थ्यमा जटिलता उत्पन्न भए उक्त अस्पतालमा बहुविशेषज्ञ तथा विशिष्टीकृत सेवा उपलब्ध छैन।
डा. केसीलाई टाउको दुख्ने‚ रिंगटा लाग्ने‚ सास फेर्न गाह्रो हुने, मुटुको धड्कनमा गडबढी तथा रक्तचाप घट्दै गएको विज्ञप्तिमा उल्लेख छ। सोही कारण उनलाई शुद्ध पानी, नर्मल स्लाइन र रिंगर ल्याक्टेट मात्रा प्रदान गरिएको छ।
डा. केसी चिकित्सा शिक्षा सुधारको माग राखी आठ दिनदेखि अनशनमा छन्। यो उनको २०औं अनशन हो। आइतबार सरकार र डा. केसीको वार्ता टोलीबीच छलफल भए पनि सहमति भएको छैन।