सरकारसँग वार्ता गर्न डा.केसीको तर्फबाट वार्ता टोली गठन
सत्याग्रहमा बसिरहेका डा. गोविन्द केसीका तर्फबाट सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गरिएको छ।
शुक्रबार डा. जीवन क्षेत्रीको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली गठन गरिएको हो। टोलीमा अधिवक्ता ओमप्रकाश अर्याल, डा. लिजन महर्जन र प्रितम सुवेदी सदस्य छन्।
यसअघि आफूसँग गरिएको सम्झौता कार्यान्वयनको माग गर्दै डा. केसी धनगढीमा सत्याग्रहमा बसिरहेका छन्। आजको उनको सत्याग्रहको पाँचौं दिन हो।
उनको स्वास्थ्यमा समस्या देखिन थालेपछि वार्डमा सारिएको छ। डा. केसीले स्लाइन लिन मानेका छैनन्। जसले गर्दा जति वेला पनि जटिल समस्या आउन सक्ने चिकित्सकले बताएका छन्।
उनका माग सम्बोधन गर्न सरकारले पनि पहल थालेको छ। यस सम्बन्धी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्बन्धित मन्त्रालयका प्रतिनिधि सहित छलफल भएको छ।
स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसीले डा. केसीका मागप्रति सरकार गम्भीर रहेको बताएका छन्। डा. केसीका माग सम्बोधन गर्नका लागि छलफल चलिरहेको उनले बताए।