मूल्यवृद्धि दर दोब्बर, डलर सञ्चिति फेरि घट्यो
उपभोक्ता मूल्यको वृद्धि कायमै रहेको देखिएको छ भने डलरको सञ्चिति फेरि घटेको छ।
नेपाल राष्ट्र ब्यांकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनका अनुसार, चालु आर्थिक वर्षको पहिलो महीना साउनमा उपभोक्ता मूल्यवृद्धि दर ८.२६ प्रतिशत पुगेको छ। यो गत वर्षको सोही अवधिका तुलनामा झण्डै दोब्बरले बढी हो। गत वर्षको साउन महीनामा उपभोक्ता मूल्यवृद्धि दर ४.३५ प्रतिशतमा सीमित थियो।
गत साउनमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि दर ७.११ र गैर खाद्य तथा सेवा समूहको मूल्यवृद्धि दर ९.१८ प्रतिशत छ। सबैभन्दा धेरै घ्युतेलको मूल्य १९.५८ प्रतिशत तथा फलफूलको मूल्य १८.७९ प्रतिशतले बढेको छ। रेस्टुरेन्ट र होटलको मूल्य ११.८४ तथा दूग्ध पदार्थ र अण्डाको मूल्य १०.१९ प्रतिशत बढेको छ।
त्यसैगरी, साउनमा यातायातको मूल्य २३.८८ प्रतिशत, स्वास्थ्य १०.५४ प्रतिशत र शिक्षाको मूल्य ९ प्रतिशतले बढेको छ।
उपभोग्य वस्तु र सेवाको चर्को मूल्यवृद्धिले न्यून आय भएका समूहलाई पिरोल्छ। गत तीन दशकमा नेपालमा औसत वार्षिक मूल्यवृद्धि दर ७ प्रतिशतको हाराहारीमा छ।
त्यस्तै, साउन महीनामा तलब तथा ज्यालादर ११.०६ प्रतिशत बढेको छ। खासगरी, सरकारी कर्मचारीको तलब बढेकाले यस्तो सूचक वृद्धि धेरै देखिएको हो।
साउनमा विदेशी मुद्राको सञ्चिति थप घटेर नौ अर्ब ४२ करोड डलरमा ओर्लिएको छ। यो असारमा नौ अर्ब ५४ करोड डलर थियो। एकै महीनामा डलर सञ्चिति १२ करोड डलर घटेको हो। यद्यपि, विद्यमान डलर सञ्चितिले आठ महीनाको वस्तु र सेवा धान्न सक्ने केन्द्रीय ब्यांकले जनाएको छ।
चालु वर्षको पहिलो महीनामा देशको भित्रिने र बाहिरिने रकमबीचको अन्तर शोधनान्तर स्थिति २२ अर्ब ६३ करोड रुपैयाँले घाटामा पुगेको छ। यस्तो घाटा अघिल्लो वर्षको यही अवधिमा ३८ अर्ब ७५ करोड थियो। साउनमा ७२ करोड ४० लाख डलर (९२ अर्ब २१ करोड रुपैयाँ) रेमिटेन्स भित्रिएको छ। यो अघिल्लो वर्षको यही अवधिका तुलनामा १२.५ प्रतिशतले कम हो।
यो वर्षको पहिलो महीनामा नेपालले १४ अर्ब ८१ करोडको वस्तु निर्यात गरेको छ भने आयात एक खर्ब ३१ अर्ब २९ करोडको गरेको छ। अघिल्लो वर्षका तुलनामा आयात र निर्यात दुवै खस्किएको हो। कच्चा भटमासको तेल, मोटरगाडी आदिको आयातमा उल्लेख्य गिरावट आएको छ।