डा. केसीको सत्याग्रहको तेस्रो दिन, प्रधानमन्त्री कार्यालयले थाल्यो छलफल
चिकित्सा शिक्षा सुधारका लागि सत्याग्रहमा बसिरहेका डा. गोविन्द केसीको मागको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले छलफल शुरू गरेको छ।
प्रधानमन्त्रीको कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव र सहसचिवलाई बोलाएर बुँदागत छलफल शुरू गरेको जनाएको छ। छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल, शिक्षा मन्त्रालयका सचिव रामकृष्ण सुवेदी र स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण पौडेल लगायत सहभागी थिए।
डा.केसीसँग २०७७ साल असोज २४ गते भएका सहमति र त्यसमा भएका प्रगति सहित अहिले उठाएका मागका विषयमा बुँदागत रूपमा छलफल भएको डा. पौडेलले बताए। उनका अनुसार, डा. केसीले राखेको माग र त्यसको कार्यान्वयन कहाँ पुगेको छ भनेर बुँदागत रूपमा छलफल भएको थियो।
“हालसम्म भएका सम्झौताको प्रगति र अहिले उठाएका मागका विषयमा भइरहेका काम तथा प्रगति र गर्न सकिने कामका विवरण एकीकृत गरेपछि डा. केसीसँग वार्ता गर्ने लगायत प्रक्रिया अगाडि बढ्नेछ,” डा. पौडेलले हिमालखबरसँग भने।
डा. केसी सत्याग्रहमा बसेको तेस्रो दिन हो। आज उनको रगत र पिसाब परीक्षण गरिएको छ। अहिलेसम्म स्वास्थ्यमा समस्या नदेखिए पनि कुनै पनि समयमा समस्या आउन सक्ने सेती प्रादेशिक अस्पतालका चिकित्सक डा. शेरबहादुर कमरले बताए। “बाँच्नका लागि शरीरलाई पोषण, पानीको मात्रा र खनिज चाहिन्छ, त्यो नहुँदा शरीरका विभिन्न अङ्गमा जटिलता आउन सक्छ,” डा. कमरले भने।
डा. केसी तीन दिनदेखि धनगढीमा सत्याग्रहमा बसिरहेका छन्। माग पूरा गर्छु भनेर अलमल्याएकाले प्रधानमन्त्री शेरबहादुर देउवाकै प्रदेशमा सत्याग्रहमा बसेको उनले बताएका छन्।