परोपकार प्रसूति गृहमा ‘ह्युमन मिल्क ब्यांक’ स्थापना
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीमा ‘ह्युमन मिल्क ब्यांक’ अर्थात ‘अमृत कोष’ स्थापना गरिएको छ।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले अमृत कोषको उद्घाटन गरेकी छन्। बालबालिकामैत्री स्वास्थ्य प्रणाली सुनिश्चित गर्नका लागि यसलाई महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ। यसले समय नपुगी जन्मिएका, कम तौल भएका र अन्य जोखिममा रहेका शिशुलाई सबैभन्दा बढी आवश्यकता परेको वेलामा अरू आमाको दूध उपलब्ध गराउनेछ।
हरेक वर्ष, विश्वभर करीब एक करोड ५० लाख शिशु समय नपुगी नै जन्मिने गरेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ। नेपाल जस्ता निम्न-मध्यम आय भएका देशमा करीब ८१ हजार शिशु समय नपुग्दै जन्मिने गरेका छन्।
शिशु जन्मिएको पहिलो महीनामा मृत्युको उच्च जोखिम हुन्छ भने समय नपुगी जन्मेका र कम तौल भएका शिशु अझ बढी जोखिममा हुन्छन्। सन् २०१९ को नेपाल बहुसूचक सर्वेक्षण अनुसार, नेपालमा नवजात मृत्यु दर (जीवनको पहिलो २८ दिनमा प्रति एक हजार जीवित जन्ममा मृत्यु हुनेको संख्या) १६ छ।
त्यस्तै, शिशु मृत्युदर (प्रति एक हजार जीवित जन्ममा एक वर्षभन्दा कम उमेरको मृत्यु हुनेको संख्या) २५ र पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको मृत्युदर प्रति एक हजार जीवित जन्ममा २८ छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लाल आमाको दूधले शिशुको जीवन सुनिश्चित गर्न सहयोग पुग्ने बताउँछन्। “आमाको दूध पोषणको उत्तम स्रोत हो र यसले शिशुको जीवन सुनिश्चित गर्नका साथै स्वास्थ्य विकासमा मद्दत पुर्याउँछ,” डा. लाल भन्छन्, “आमाको दूधले शिशुको मस्तिष्कको विकासलाई बलियो बनाउँछ। बालबालिका र आमालाई जीवनभर फाइदा गर्छ।”
आमाको दूधमा अन्य कुनै स्रोतमा नपाइने एन्टिबडी हुने भएकाले पनि शिशुको मृत्युको जोखिम घटाउने उनको भनाइ छ। “जन्मेको पहिलो घण्टामा हुने स्तनपानको प्रारम्भिक शुरूआत, जन्मदेखि ६ महीना उमेरसम्मको पूर्ण स्तनपान, दुई वर्षसम्मको नियमित स्तनपान र त्यसपछि पूरक आहारले शिशुलाई विभिन्न खालका संक्रमण र कुपोषणबाट जोगाउँछ भने शिशुको मृत्यु हुन सक्ने जोखिमलाई समेत घटाउँछ,” उनी भन्छन्।
पूर्ण स्तनपानले विश्वभर पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको सम्भावित मृत्युलाई १३ प्रतिशतले कम गर्न सक्ने अध्ययनले देखाएको छ। यस्तै, जन्मेको पहिलो घण्टाभित्र गराइने स्तनपानसँगै पूर्ण स्तनपानले नवजात शिशुको मृत्युलाई २२ प्रतिशतले घटाउन सक्ने जनाइएको छ।
नेपाल बहुसूचक सर्वेक्षण, सन् २०१९ का अनुसार नेपालमा दुई वर्षमुनिका शिशुमध्ये ४२ प्रतिशतलाई मात्र जन्मेको एक घण्टाभित्र स्तनपान गराइन्छ भने ६ महीनामुनिका ६२ प्रतिशत शिशुलाई मात्र पूर्ण स्तनपान गराइन्छ।
समय नपुगी जन्मेका र कम तौल भएका शिशु जीवित रहिरहन सक्ने तथा उनीहरूको पर्याप्त शारीरिक तथा मानसिक विकास हुन नसक्ने बढी जोखिम रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक प्रा.डा अमिरबाबु श्रेष्ठ बताउँछन्। यसका साथै उनीहरूको कमजोर स्वास्थ्य अवस्थाका कारण दूध खुवाउन पनि गाह्रो हुन्छ। “यस्ता शिशुहरूको सन्दर्भमा प्रत्यक्ष स्तनपान सम्भव हुँदैन। यस्तो अवस्थामा उनीहरूका लागि उत्तम विकल्प भनेको आमाको दूध निकालेर खुवाउनु हो,” श्रेष्ठ भन्छन्।
जब आमाको दूध पर्याप्त हुँदैन वा उपलब्ध हुँदैन, नवजात शिशुलाई बट्टाको दूध दिइने गरिन्छ। तर, बट्टाको दूध खुवाउँदा त्यस्ता शिशुमा संक्रमण र ‘नेक्रोटाइजिङ इन्टेरोकोलाइटिस (आन्द्रा सम्बन्धी एक प्रकारको रोग)को जोखिम उच्च हुने उनको भनाइ छ। त्यसैले, उनीहरूलाई बट्टाको दूधको सट्टा दान गरिएको अरू आमाको दूध खुवाउन अमृत कोषले सहयोग पुग्ने उनी बताउँछन्।
प्रसूति गृहमा स्थापना गरिएको ‘अमृत कोष’ मा सुत्केरी आमाबाट सुरक्षित रूपमा दान गरिएको दूध संकलन, प्रशोधन, परीक्षण र भण्डारण गरी आवश्यक परेका शिशुलाई उपलब्ध गराउने सुविधा छ। नेपाल सरकार, यूरोपियन युनियन र युनिसेफको साझेदारीमा अमृत कोष स्थापना गरिएको हो।