इन्फोमेरिक्सको अनुमति कानून बमोजिम नै: शंकर समूह
शंकर समूहले इन्फोमेरिक्स क्रेडिट लिमिटेडको अनुमति कानून अनुसार नै भएको बताएको छ। मुलुकको प्रचलित ऐन-कानून बमोजिम नै इन्फोमेरिक्स क्रेडिट लिमिटेडले अनुमति पाएको र यसमा आफ्नो व्यवसायिक समूह अन्तर्गतका कम्पनी नजोडिएको शंकर समूहले दाबी गरेको हो।
गत चैत ६ गते इन्फोमेरिक्सले क्रेडिट रेटिङ एजेन्सी सञ्चालनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। हिमालखबरले शंकर समूहसम्बद्ध कम्पनीले क्रेडिट रेटिङ एजेन्सी सञ्चालनको अनुमति पाएको विषयमा प्रकाशित गरेको समाचारमा चित्त नबुझाउँदै शंकर समूहले उक्त समाचारको खण्डन गरेको छ। ‘क्रेडिट रेटिङ नियमावली, २०६८ को नियम ३४ मा रहेको व्यवस्थालाई खण्ड खण्ड मात्र उल्लेख गरी सोलाई गलत व्याख्या गरी हामी र हाम्रो व्यावसायिक समूह अन्तर्गतका कम्पनीसँग नाम जोडी प्रकाशित समाचार निराधार तथा तथ्यहीन रहेको’ खण्डनपत्रमा उल्लेख छ (हे. पत्र)।
क्रेडिट रेटिङ नियमावलीले कुनै व्यावसायिक समूहले क्रेडिट रेटिङ एजेन्सीमा लगानी गर्न रोक लगाएको छैन। तर, नियमावलीको दफा ३४ मा क्रेडिट रेटिङ संस्थाले आफ्नोे वा आफ्नो संस्थापक शेयरधनी, मुख्य शेयरधनी वा आफ्नोे मुख्य संस्था वा सहायक संस्थाहरूको क्रेडिट रेटिङ गर्न नमिल्ने छ। यो दफाको स्पष्टीकरणमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आफैंले वा आफू सहित आफ्नोे एकाघरको परिवारको सदस्य समेत मिली क्रेडिट रेटिङ संस्थाको कम्तीमा १० प्रतिशत शेयर स्वामित्व ग्रहण गरेको वा मताधिकार प्राप्त गरेको व्यक्तिसम्बद्ध कम्पनीको रेटिङ गर्न नमिल्ने उल्लेख छ। शंकर समूहले उक्त कानूनी सीमा ननाघिएको दाबी गरेको छ।
शंकर समूह अन्तर्गतको जगदम्बा समूहका अध्यक्ष शाहिल अग्रवालले हिमालखबरसँग कुरा गर्दै इन्फोमेरिक्स क्रेडिट रेटिङमा आफ्नो कम्पनीको ‘सोझो स्वार्थ बाझिने गरी लगानी नभएको र नेपालमा अप्रत्यक्ष स्वार्थको द्वन्द्व नभएको कुनै क्षेत्र पनि नभएको’ बताएका छन्।
हिमालखबरले धितोपत्र बोर्डका एक निवर्तमान उच्च अधिकारीबाट प्राप्त सूचना तथा तस्वीर प्रमाणका आधारमा समाचार प्रकाशित गरेको थियो। हिमालखबरसँग कुरा गर्दै धितोपत्र बोर्डका पूर्व कार्यकारी निर्देशक निरज गिरीले इन्फोमेरिक्समा शुरूआतमा शंकर समूहका उपाध्यक्ष सुलभ अग्रवाल सञ्चालकका रूपमा रहेको तर कोभिड १९ रोक्न लगाइएको बन्दाबन्दीका दौरानमा उनी विरुद्ध कालोबजारी गरेको गम्भीर आरोप लागेपछि सञ्चालक परिवर्तन गरिएको बताएका थिए।
अगस्ट २०२१ मा इन्फोमेरिक्स भारतका निर्देशक सुरज प्रताप मलिक सहितका इन्फोमेरिक्ससम्बद्ध समूहले अर्थमन्त्री जनार्दन शर्मा र धितोपत्र बार्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानासँग सोही कम्पनीको अनुमति प्रक्रियाका सन्दर्भमा भेट्दा सुलभ अग्रवाल पनि टोलीमा सामेल भएको प्राप्त तस्वीरमा देखिएको छ।
नेपाल राष्ट्र ब्यांकका पूर्व कार्यकारी निर्देशक रहेका चार्टर्ड एकाउन्टेन्ट शिवनाथ पाण्डेले एउटै व्यावसायिक समूहले ब्यांक-वित्तीय संस्थाको ऋण लिने र प्रत्यक्ष/अप्रत्यक्ष रूपमा क्रेडिट रेटिङसँग सम्बद्ध हुनु वित्तीय सुशासनका दृष्टिले उचित नहुने बताएका छन्। व्यावसायिक घराना विशाल समूह सम्बद्ध केयर रेटिङ नेपाल पनि सञ्चालनमा छ।
शंकर समूहको प्रतिक्रिया र खण्डन पत्रः