फोहोर फाल्न दिने सहमति भएको २४ घण्टा नबित्दै पुनः अवरोध
बन्चरेडाँडामा फोहोर फाल्ने सहमति भएको २४ घण्टा नबित्दै स्थानीयले पुनः अवरोध गरेका छन्।
यसअघि पक्राउ परेकाहरूलाई विना शर्त छाड्न माग गर्दै स्थानीयले बिहीबार बिहानैदेखि फोहोर फाल्न अवरोध गरेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।
बुधबार काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका बासिन्दाबीच फोहोर फाल्न दिने सहमति भएको थियो। चारबुँदे सहमतिमा सात दिनभित्र फोहोर बोक्ने सबै सवारी साधनबाट लिचड नचुहिने व्यवस्था गरिने‚ धूलो नियन्त्रणका लागि पानी छर्कने, फोहोर व्यवस्थापन हुने स्थानमा नियमित औषधि छर्कने कार्यलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने लगायत उल्लेख छ।