भोलि पदाधिकारी टुङ्गो लगाउने माओवादी तयारी
नेकपा (माओवादी केन्द्र)ले बिहीबार पदाधिकारी टुङ्गो लगाउने तयारी गरेको छ।
माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी समिति बैठकले बिहीबार पदाधिकारी टुङ्गो लगाउने तय गरेको हो। स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै माओवादी प्रवक्ता कृष्णबहादुर महराले भने, “आजको बैठकमा पदाधिकारीबारे विस्तृत छलफल भएको छ, करीब करीब टुङ्गोमा पुगेका छौं।”
माओवादी स्थायी समिति बैठकले पदाधिकारीबारे गृहकार्य गर्न अध्यक्ष पुष्पकमल दाहाललाई जिम्मेवारी दिएको छ। बिहीबार बिहान ८ बजे बस्ने स्थायी समिति बैठकमा अध्यक्ष दाहालले पदाधिकारीको प्रस्ताव गर्ने भएका छन्। “भोलि बिहान बस्ने बैठकले पदाधिकारीको टुङ्गो लगाउँछ,” प्रवक्ता महराले भने।
गत पुसमा सम्पन्न महाधिवेशनले अध्यक्षको चयन गरेको भए पनि अहिलेसम्म पदाधिकारीको टुङ्गो लाग्न सकेको छैन। माओवादीमा १५ जना पदाधिकारी रहने व्यवस्था छ।
यससँगै माओवादीले स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय समितिमा पनि सदस्य थप्ने भएको छ। बुधबारको बैठकमा यस विषयमा पनि छलफल भएको प्रवक्ता महराले बताए।
बिहीबार पदाधिकारीसँगै थप्नुपर्ने स्थायी समिति सदस्य, पोलिटब्यूरो सदस्य र केन्द्रीय सदस्यको टुङ्गो लगाएपछि चुनाव केन्द्रित हुने प्रवक्ता महराले जानकारी दिए।