कांग्रेस प्रचण्ड कम्पनीको नीतिमा लुरुलुरु हिंडिरहेको छ: ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस लोकतन्त्रलाई छोडेर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको नीतिमा हिंडिरहेको आरोप लगाएका छन्।
काठमाडौंमा बुधबार पूर्व मन्त्री हेमराज राई सहित जनता समाजवादी पार्टी (जसपा)का नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश गराउँदै अध्यक्ष ओलीले कांग्रेसले लोकतन्त्र बिर्सिसकेको टिप्पणी गरे। कांग्रेस कमजोर भइसकेको जिकिर गर्दै ओलीले भने, “कांग्रेस एक्लै अखडामा पस्नै सक्दैन, एमालेसँग। पाँच-सात साथी नलिईकन हिंड्नै सक्दैन।”
अर्काको नीतिमा हिंड्दा कांग्रेस कमजोर भएको उनको भनाइ थियो। “कांग्रेससँग लोकतन्त्र रहेन, प्रचण्डको कार्यकर्ता जस्तो भएको छ,” ओलीले भने, “कांग्रेस प्रचण्ड एन्ड कम्पनीको नीतिमा लुरुलुरु हिंडिरहेको छ।”
अहिले कांग्रेस र गठबन्धनको उद्देश्य आफू जित्नेभन्दा पनि एमालेलाई रोक्ने भएको उनले बताए। त्यसैले विचार नमिल्ने दलहरूसँग पनि गठबन्धन भइरहेको ओलीको जिकिर थियो।
अध्यक्ष ओलीले आगामी चुनावमा एमालेलाई बहुमत प्राप्त हुने गरी गाउँ गाउँ पुग्न, चुनावी प्रचारमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए।