लगनटोल र सातदोबाटोमा पनि देखियो हैजा
काठमाडौं उपत्यकामा हैजाको संक्रमण बढ्दै गएको छ। पछिल्लो पटक लगनटोल र सातदोबाटोमा पनि हैजाका बिरामी भेटिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ललितपुर महानगरपालिका–१५ को लगनटोल र सातदोबाटोमा एक-एक जनामा हैजाको संक्रमण पुष्टि भएको हो। योसँगै काठमाडौं उपत्यका हैजाका बिरामीको संख्या ४९ पुगेको छ।
हैजा देखिएका अधिकांश निको भइसकेका छन्। अहिले तीन जनाको अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
गत असार २ गते बागबजारका दुई जनामा हैजा देखिएको थियो। त्यसयता डिल्लीबजार, बुढानिलकण्ठ, बोराटार, ढल्कु, टेकु, ताहाचल, त्रिपुरेश्वर, ठिमी र सानेपामा हैजाको संक्रमण देखिएको हो।
हैजा नियन्त्रणका लागि प्रयास भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।