वडाध्यक्षदेखि चिकित्सकसम्मले महिला हिंसा गरेको खुलासा
महिलाहरूले सबैभन्दा बढी हिंसा सार्वजनिक यातायातमा भोग्ने गरेको एक अध्ययनले देखाएको छ।
सार्वजनिक स्थानमा महिला तथा किशोरीमाथि हुने हिंसा सम्बन्धमा महिला पुन:स्थापना केन्द्र (ओरेक)ले गरेको अध्ययन अनुसार, सार्वजनिक स्थानमा हिंसा र दुर्व्यवहार गर्नेमा भने अपरिचित व्यक्ति र सेवाप्रदायक संस्थाहरू हुने गरेका छन्।
विभिन्न स्थानमा हिंसामा परेका ३५ प्रतिशत महिलाहरूले हिंसा सहने र उजुरी नै दिंदैनन्। यी महिलाहरूले हिंसाको प्रतिक्रिया नदिनुको कारण सामाजिक र सांस्कतिक डर भएको खुलेको छ। परिवार, आर्थिक असुरक्षा, डर-त्रास, ज्ञान नपुगेर, न्यायप्रतिको अविश्वास जस्ता कारणले पनि उनीहरू हिंसा सहेर बसेका छन्।
फेरि उजुरी दिए पनि वा घटना भएको थाहा भएपछि पनि उनीहरूलाई परिवारले असहयोग गरेको पाइएको छ। त्यसैले सार्वजनिक स्थलमा हुने हिंसामा दुई प्रतिशत महिलाहरूले मात्र सम्बन्धित निकायमा गुनासो गरेको देखिएको छ।
सन् २०२१ मा दाङ, मोरङ र उदयपुरमा भएको अनुसन्धानले मुख्य तीन क्षेत्रमा अध्ययन गरेको संस्थाका कार्यकारी निर्देशक लुभराज न्यौपानेले बताए। उनका अनुसार, यस अध्ययन महिला जनप्रतिनिधि, स्वास्थ्य संस्थाहरू र कमजोर सहयोगी संयन्त्र भएका समुहहरूमा गरिएको थियो। जसमा निर्वाचित जनप्रतिनिधिदेखि लैङ्गिक अल्पसङ्ख्यकहरूले स्वास्थ्य संस्थादेखि सरकारी कार्यालय र प्रहरीबाट पनि हिंसा भोगेका छन्। “अरूको त कुरै छाडौं, उपमेयर महिलाले वडाध्यक्षबाटै यौन हिंसा भोगेको पाइयो,” कार्यकारी निर्देशक न्यौपानेले अध्ययन सार्वजनिक कार्यक्रममा भने, “महिला प्रमुख पदमा भए पनि उनीहरू हिंसामा नपर्ने होइन रहेछ। बरु समाजले महिलालाई नै दोषी देख्ने संस्कृतिले हिंसाको आयाम बढाएको देखियो।”
अध्ययनको अर्को खुलासामा महिला, लैङ्गिक अल्पसङ्ख्यक, अपाङ्गता भएका महिलाहरूले स्वास्थ्य संस्थाहरूमा पनि उत्तिकै हिंसा भोगेको पाइयो। विशेष गरी अविवाहित युवती र किशोरीहरूलाई स्वास्थ्य समस्या आउँदा स्वास्थ्यकर्मीले उनीहरूको चरित्रमाथि प्रश्न गरेका छन्। अझ, ती महिलाहरूलाई यौनकर्मी मानेर दुर्व्यवहार गरेको पाइएको छ। यता, लैङ्गिक अल्पसङ्ख्यकहरूलाई भने चिकित्सकहरूले नै हाँसोको पात्र बनाउने र उपचार गर्न हिचकिचाउने गरेका छन्।
यिनैमध्ये अनुसन्धानमा सहभागी एक महिलाले भनेकी छन, “गर्भनिरोध सुई लगाउन जाँदा मलाई एक पुरुष डाक्टरले अनावश्यक रूपमा कपडा खोल्न लगाए। मलाई रिस उठेको थियो, तर मैले केही गर्न सकिनँ। यो मसँग मात्र भएको घटना थिएन। अरू महिलाहरू पनि यस्तै व्यवहारबाट प्रभावित भएको थिए। ती डाक्टर अझै त्यही संस्थामा नै छन्।”
यस्ता दुर्व्यवहार, हिंसा र विभेदका घटनाहरू स्वास्थ्य संस्थामा बारम्बार भइरहे पनि हिंसालाई सम्बोधन गर्ने संयन्त्रहरू कमजोर र अस्तित्वहीन हुने ओरेककी अनुसन्धानकर्ता सुनीता मैनालीले बताइन्। उनले अनुसन्धानको सारांश बताउँदै भनिन्, “हिंसापछि प्रतिकार गर्दा पनि न्याय नपाएका पीडितहरूको कुरा प्रहरीहरूले नै विश्वास नगरेको र कुटपिटलाई हिंसा नमानेको पाइएको छ।”
हिंसाको न्यायिक संयन्त्र कमजोर र महिलाहरूको न्यायप्रति नै विश्वास गुमेर हुन सक्छ, हिंसा भोगेका ९८ प्रतिशत महिलाहरूले सम्बन्धित निकायमा उजुरी नै नगर्ने गरेकाे अनुसन्धानको निष्कर्ष छ।