नागरिकता विधेयक देशको हितमा छैन: ज्ञवाली
नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले नागरिकता विधेयक देशको हितमा नभएको जिकिर गरेका छन्।
बुटवलमा शनिबार प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेपाली नागरिकले विना कुनै बहाना नागरिकता पाउनुपर्नेमा सन्देह नभए पनि अहिले सरकारले ल्याएको विधेयक त्रुटिपूर्ण रहेको टिप्पणी गरे। “राज्य व्यवस्था समितिमा जुटेको सहमति विपरीत सरकारले विधेयक ल्याएको छ, यो देशको हितमा छैन,” ज्ञवालीले भने।
एमालले नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्र अङ्गीकृत नागरिकता दिने व्यवस्था गर्नुपर्ने प्रस्ताव राखेको उनको भनाइ थियो। तर, अहिले वैवाहिक अङ्गीकृत नागरिकता विवाह गरेर आउने बित्तिकै प्राप्तिका लागि प्रक्रिया अगाडि बढाउन सकिने भएकाले उचित नभएको उनको जिकिर थियो।
वैवाहिक अङ्गीकृत नागरिकताको सवालमा केही मापदण्ड राख्ने तर उनीहरूलाई कुनै प्रकारको व्यवसाय, नोकरी गर्न नरोक्ने गरी व्यवस्था गर्न सकिने ज्ञवालीको भनाइ थियो।