इन्ड्राइभरको विवरण ‘पोर्न साइट’ मा राखेको आरोपमा युवक पक्राउ
राइड शेयरिङ एप इन्ड्राइभरमा राखिएको विवरण ‘पोर्न साइट’ मा राखेको आरोपमा प्रहरीले एक जना ट्याक्सी चालकलाई पक्राउ गरेको छ।
राइड शेयरिङ एपमा राखिएको नाम, ठेगाना र मोबाइल नम्बर पोर्न साइटमा राखेको आरोपमा इनड्राइभर ट्याक्सी चालक २४ वर्षीय कर्म वाङसिं लामालाई प्रहरीले पक्राउ गरेको हो। एक जना महिलाको तस्वीर राखेर देह व्यापार पेशा भन्ने आशयका शब्द प्रयोग गरिएकाले उनलाई पक्राउ गरिएको नेपाल प्रहरी, साइबर ब्यूरोका प्रवक्ता नविन्द अर्यालले जानकारी दिए।
अर्यालका अनुसार, नमोबुद्ध–५, काभ्रे स्थायी घर भई काठमाडौं–६, बौद्ध बस्दै आएका आरोपीले एक जना लैङ्गिक अल्पसङ्ख्यकको नक्कली फेसबूक अकाउन्ट बनाएर समेत दुरुपयोग गरेको प्रहरीकाे भनाइ छ। सोही नक्कली अकाउन्ट राखेर ‘स्टडी म्याटेरियल’ नामक मेसेन्जर ग्रूप समेत बनाएको पाइएको अर्याल बताए।
अमेरिकाको क्यालिफोर्नियामा प्रधान कार्यालय रहेको इन्ड्राइभर नेपालमा दर्ता छैन। यो गत जेठदेखि नेपालमा सञ्चालनमा छ।