गठबन्धनको बहुमत आए पाँचै वर्ष कांग्रेस नेतृत्वमा सरकार
आगामी निर्वाचनमा सत्तारूढ गठबन्धनले बहुमत ल्याए पाँचै वर्ष आफैंले सरकारको नेतृत्व गर्ने नेपाली कांग्रेसले निर्णय गरेको छ।
असार २७ गते शुरू भएर साउन २ गते सम्पन्न कांग्रेस केन्द्रीय समितिको बैठकले आगामी निर्वाचनपछि कम्तीमा पाँच वर्ष अन्य दलबाट प्रधानमन्त्री नबनाउने निर्णय गरेको हो। ‘... नेपाली जनतालाई पाँच वर्षमा स्थिर सरकार मार्फत जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने स्पष्ट कार्यक्रमको खाका सहित आम निर्वाचनमा कांग्रेस प्रस्तुत हुनुपर्दछ भन्ने ठहर यो बैठक गर्दछ,’ केन्द्रीय समितिको निर्णयमा भनिएको छ।
कांग्रेसको निर्णयमा भनिएको छ, ‘तालमेल गरिरहँदा कांग्रेसको मुख्य नेतृत्वदायी भूमिका रहेको यथार्थ, सांगठनिक वस्तुस्थिति तथा पार्टी पङ्क्ति एवं शुभेच्छुकको भावनालाई दृष्टिगत गर्दै गठबन्धनमा रहेका दलहरूसँग संवाद मार्फत निष्कर्षमा पुग्ने निर्णय यो बैठक गर्दछ।’
सत्ता गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले कान्तिपुर दैनिकमा ‘आलोपालो प्रधानमन्त्रीबारे एउटा बिन्दुमा पक्कै छलफल हुन्छ’ भन्ने अन्तर्वार्ता दिएकै दिन कांग्रेसले पाँच वर्ष आफ्नै नेतृत्वमा सरकार चलाउने निर्णय गरेको हो।
प्रदेश सभा र प्रतिनिधि सभामा अहिलेकै सत्ता गठबन्धनलाई निरन्तरता दिने कांग्रेसको निर्णय छ। कांग्रेसका एक महामन्त्री आगामी पाँच वर्ष कांग्रेसले सरकारको नेतृत्व गर्न नपाउने अवस्था आएमा सत्ता गठबन्धनले निरन्तरता पाउन नसक्ने बताउँछन्।