कांग्रेस नेतृत्वको सरकार छ भन्दैमा गलत गर्दा चूप बस्नु हुँदैन: शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसको नेतृत्वमा सरकार छ भन्दैमा गलत काम गर्दा चूप लागेर बस्न नहुने बताएका छन्।
चितवनमा शनिबार नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा. कोइरालाले सरकारका गलत कामको खण्डन गर्नुपर्ने बताए। “सरकार र सभापतिले गरेका नकारात्मक कुराको खण्डन गर्दै पार्टी बलियो बनाएर लैजानुपर्छ,” डा. कोइरालाले भने, “कांग्रेसको नेतृत्वमा सरकार छ भन्दैमा सरकारले गरेका गलत कामको खण्डन गर्नु हुँदैन भन्ने छैन।”
सरकारले गरेका राम्रा कामको प्रचार गर्नुपर्ने र गलत कामको विरोध गर्नुपर्ने उनको भनाइ थियो। कांग्रेसलाई कम्युनिस्टको प्रवृत्तिबाट जोगाउनुपर्ने उनले बताए।
कांग्रेसभित्रको गुटबन्दीबारे सोधिएको प्रश्नको जवाफमा डा. कोइरालाले कांग्रेस कुनै समूहको पार्टी नभएको जिकिर गरे। “कांग्रेस विधिविधान अनुसार हिंड्नुपर्छ,” उनले भने, “पार्टी सभापतिले सबैलाई मिलाएर हिंडाउनुहुन्छ। म भागबण्डाको पक्षमा छैन, पार्टी वैधानिक रूपमा चलोस् भन्ने मात्रै हो।”
त्यस्तै, आगामी चुनावमा गठबन्धनका विषयमा सोधिएको प्रश्नमा डा. कोइरालाले कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्नुपर्ने बताए। “गठबन्धनमा कसरी जाने भन्ने विषयमा छलफल भइरहेको छ, गठबन्धन गर्दै गर्दा कांग्रेसलाई कमभन्दा कम क्षति हुने गरी जानुपर्छ,” उनले भने।
स्थानीय चुनावमा गठबन्धन गर्दा आफ्ना मतदाता कति छन् भन्ने समेत यकिन हुन नसकेको उनको भनाइ थियो। “स्थानीय निर्वाचनमा हामीले रूखमा, हँसिया हथौडामा, कलममा, छातामा मतदान गर्न भन्यौं, तर आफ्ना मतदाता कति हुन् भन्ने बुझ्न सकिएन,” डा. कोइरालाले भने।
त्यसैले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा कांग्रेसलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने उनको भनाइ थियो।