एसपीपी पास नहुँदा प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द भयो : माधव नेपाल
अमेरिकाको न्याशनल गार्ड स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) पास नहुँदा प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द भएको नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले बताएका छन्।
एकीकृत समाजवादीको बागमती प्रदेश कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एसपीपी रोक्नमा आफ्नो भूमिका रहेको बताए। जसले गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण समेत रद्द भएको जिकिर गरे।
अध्यक्ष नेपालले भने, “एसपीपी केपी ओली प्रधानमन्त्री भएकै पालोमा ल्याएको थाहा भयो। त्यस्तो अवस्थामा प्रधानमन्त्री (शेरबहादुर देउवा) ले त्यसमा हामी अस्वीकार गर्छौं भनेपछि हुन लागेको अमेरिका भ्रमण पनि रद्द भयो, थाहा छैन?”
देशलाई अप्ठ्यारोमा पर्न नदिन अमेरिकी सहायता परियोजना एमसीसीलाई जस्ताको त्यस्तै पास गरेको उनको भनाइ थियो। “हामीले एमसीसीलाई पनि यथास्थितिमा पास हुन दिएनौं। व्याख्यात्मकसँग जोड्यौं। इन्डोप्यासिफिकको अंग हुन्छ भने अस्वीकार गर्छौं भन्यौं,” नेपालले भने, “यथास्थितिमा पास भएको भए नेपालको राजनीति थाहा छ?”
ब्याख्यात्मक टिप्पणी गर्दा पनि अमेरिकीको लर्को लागेको उनले जिकिर गरे। “व्याख्यात्मक टिप्पणी राख्दा अमेरिकीको लर्को लाग्न थालेको थियो, यहाँ आएर तिब्बती क्याम्पमा जान थाले। सरकारी गाडी अघि–पछि घुमाउन थाले,” अध्यक्ष नेपालले भने, “नेपालको भूमिमा छिमेकी देशलाई संवेदनशील बनाएर काम हुन थाल्यो।”
उनले अब आगामी निर्वाचनमा केन्द्रित हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिए। प्रत्येक वडा र पालिकासम्म पार्टीका जनवर्गीय सङ्गठनलाई विस्तार गर्नुपर्ने उनको भनाइ थियो।
“पहिलो काम कमिटी बनाउने, दोस्रो काम कमिटीलाई सक्रिय बनाउने, तेस्रो काम कमिटीका सदस्यलाई जनता माझमा व्यापक रुपमा परिचालन गर्न सक्रियतापूर्वक लाग्ने हो,” नेपालले भने।
अध्यक्ष नेपालले सङ्घ र प्रदेश सभाको निर्वाचनले राष्ट्रिय राजनीतिमा ठूलो प्रभाव पार्ने भएकाले सोही अनुरुप लगनशील भएर आफ्नो पार्टीको प्रतिनिधित्व हुनेगरी लाग्न कार्यकर्तालाई आग्रह गरे। “निर्वाचनको समयमा टिकट पाउँछु कि पाउँदिन भन्ने विषयलाई ठूलो विषय नबनाउनुस्, राष्ट्रिय राजनीतिमा आफ्नो प्रतिनिधित्व कसरी बढीभन्दा बढी बनाउने भन्नेमा केन्द्रित हुनुस्, सानो चित्त होइन फराकिलो मन बनाएर लाग्नुस्,” नेपालले भने।
एसपीपीबारै विशेष रिपोर्ट :