मधेशमा गठबन्धनको औचित्य छैन: शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मधेशमा गठबन्धनको आवश्यकता नरहेको बताएका छन्।
बुधबार जनकपुरधामस्थित पार्टी कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै डा. कोइरालाले तराई-मधेशमा कांग्रेस आफै बलियो रहेको दाबी गरे। “तराई-मधेशका अधिकांश कांग्रेसी गठबन्धनको पक्षमा छैनन्। कांग्रेस आफै बलियो पनि छ,” डा. कोइरालाले भने, “तराई-मधेशमा गठबन्धनको औचित्य छैन।”
मधेशका सबै जिल्लाका सभापतिहरू पनि गठबन्धनको पक्षमा नरहेको जानकारी पाएको उनले बताए। गठबन्धन गर्नै पर्ने अवस्थामा पनि न्यून सिट दिएर मात्रै गर्नुपर्ने उनको भनाइ थियो।
देशका अन्य भागमा गठबन्धन गर्दा पनि ब्यापक छलफल गर्नुपर्नेमा उनले जोड दिए। “गठबन्धनका न्यूनतम मापदण्ड पूरा गरेर कांग्रेसले अगाडि बढ्नुपर्छ,” उनले भने, “गठबन्धन कति सीटमा र कस्तो गर्ने भन्ने कुरामा व्यापक छलफल हुनुपर्छ।”
स्थानीय तहको निर्वाचन र आगामी निर्वाचनको परस्थिति फरक रहेको उनको भनाइ थियो। कांग्रेसले दूरगामी सोचका साथ निर्णय गर्नुपर्नेमा उनको जोड थियो।
त्यस्तै, अर्थमन्त्री प्रकरणमा बोल्दै कोइरालाले राजीनामा मात्रै पर्याप्त नहुने बताए। “यस्तो संवेदनशील घटनामा अर्थमन्त्रीको राजीनामा मात्रै पर्याप्त हुन सक्दैन,” डा. कोइरालाले भने।