हतियार किन्ने निर्णय भएको छैन: प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले हतियार किन्ने निर्णय नगरेको बताएका छन्।
कांग्रेस केन्द्रीय कार्यसमितिका बैठकमा केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले हतियार किन्ने निर्णयबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएका छन्। उनको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री देउवाले अहिले हतियार किन्ने योजना नभएको बताए।
“सरकारले हतियार किन्ने निर्णय गरेको छैन,” देउवाको भनाइ उद्धृ गर्दै श्रेष्ठले भने, “अहिले हतियार किनिँदैन।”
सरकारले नेपाल प्रहरीका लागि हतियार किन्न लागेको भन्ने समाचार आएको थियो। त्यसै विषयमा केन्द्रीय सदस्यहरूले प्रधानमन्त्री देउवालाई प्रश्न गरेका थिए।
तीन दिनदेखि जारी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बिहीबार केन्द्रीय सदस्यहरू गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, सुनिलबहादुर थापा, बलबहादुर केसी, नारायण खड्का, अम्बिका बस्नेत, सुरेन्द्रराज पाण्डे, मिनाक्षी झा, सुजाता परियार, चिनकाजी श्रेष्ठ, ध्यानगोविन्द रञ्जित, रमा कोइराला (पौडेल), अर्जुनजंगबहादुर सिंह, उमेश श्रेष्ठ, मञ्जुकुमारी यादव, जानकी सिंह, सुशीला भट्ट मिश्र, गंगालक्ष्मी अवाल, सीताकुमारी राना र सुशीला ढकाल (आचार्य) ले आ–आफ्नो धारणा राखेका थिए।
कांग्रेस केन्द्रीय कार्यसमितिको अर्को बैठक असार ३२ गते दिउँसो १ बजे बस्ने भएको छ। असार ३१ गते प्रतिनिधि सभामा उपसभामुखको निर्वाचन भएकाले एक दिन पछि सारिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए।