पार्टीले जहाँ आवश्यकता देख्छ, त्यहीँ उठ्छु: रामचन्द्र पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आवश्यकता अनुसार आगामी निर्वाचनमा उम्मेदवार बन्ने बताएका छन्।
तनहुँको दमौलीम बिहीबार नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो इच्छाभन्दा पनि पार्टीको आवश्यकतालाई ध्यानमा राखेर आगामी निर्वाचनमा उम्मेदवार बन्ने बताए। “मेरो इच्छामा मात्र भरपर्ने कुरा होइन, पार्टीले मेरो आवश्यकता महसुशलाई कसरी लिन्छ, त्यसपछि मात्रै कुरा हुन्छ,” पौडेलले भने, “कांग्रेसको १४औं महाधिवेशनमा सभापतिले देशलाई तपाईको आवश्यकता छ, स्वास्थ्यको ख्याल गर्नुहोस् भन्नुभएको थियो।”
उनले आगामी निर्वाचनमा पनि गठबन्धन भएर जानुपर्ने बताए। अहिलेको स्थिरताका लागि गठबन्धन भएको उनको भनाइ थियो।
पौडेलले मुलुकलाई स्थिरता कायम गरी विकासको बाटोमा अगाडि बढाउने आफूहरुको मूल लक्ष्य रहेको बताए। “अहिले कांग्रेस र कम्युनिष्टको सवाल होइन, मुलुकको स्थिरताको सवाल हो,” उनले भने।
मुलुकमा स्थायित्व र सुशासनको जग बसालेर राजनीति छाड्ने मन रहेको वरिष्ठ नेता पौडेलको भनाइ थियो।
कांग्रेसभित्रको विवादका विषयमा सोधिएको प्रश्नमा वरिष्ठ नेता पौडेलले न्याय, निष्पक्षता र मूल्याङ्कनका आधारमा पार्टीभित्र न्याय हुनुपर्ने बताए। उनले भने, “पार्टीभित्र भिन्न मत राख्नेको पनि कदर हुनुपर्छ।”
त्यस्तै, सरकारका कामकारबाहीका विषयमा सोधिएको प्रश्नको जवाफमा वरिष्ठ नेता पौडेलले विगतका सरकारले गरेका गल्ती दोहोर्याउने छुट वर्तमान सरकारलाई नभएको बताए।