बाबुरामलाई कारबाही गर्ने उपेन्द्रको प्रस्ताव
जनता समाजवादी पार्टीले पार्टी विरोधी गतिविधि गर्ने नेता तथा कार्यकर्ताहरूलाई कारबाही गर्ने भएको छ।
वीरगञ्जमा बुधबारदेखि शुरू भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष उपेन्द्र यादव राखेका आठ बुँदे प्रस्तावमा कारबाही गर्ने बुँदालाई पनि समेटिएको छ। प्रस्तावमा उल्लेख छ‚ “पार्टी विरोधी गतिविधि वा पार्टी विधान विपरीत कार्य गरेकाहरूलाई कारबाही गर्न प्रस्ताव गरिन्छ।”
यस्तै‚ गत स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवारी दिने‚ अन्तर्घात गर्ने‚ विपक्षीसँग मिलेमतो गर्नेलाई पनि कारबाही गर्नुपर्ने अध्यक्ष यादवले प्रस्ताव गरेका छन्। यसका लागि पाँच सदस्यीय छानबिन तथा जाँचबुझ समिति गठन गर्ने प्रस्ताव गरिएको छ।
पार्टी गतिविधि विपरीत काम गर्नेलाई कारबाही गर्ने प्रस्ताव संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई लक्षित छ। वीरगञ्जमा केन्द्रीय समिति बैठक बस्ने निर्णय भएपछि भट्टराईले काठमाडौंमा आफू पक्षीय केन्द्रीय समितिको बैठक गरिसकेका छन्। अध्यक्ष यादवको प्रस्तावमाथि आज छलफल हुने बैठकको कार्ययोजना छ।
अध्यक्ष यादवले समितिकै बैठकमा बुधबार नै पार्टी विधान विपरीत गएकाले भट्टराईलाई कारबाही गर्ने बताइसकेका छन्। “आफ्नो पक्षको भेला गरेर गलत गर्नु भएको छ। त्यसको पश्चाताप गर्दै फर्किन म आग्रह गर्दछु,” यादवले भनेका थिए‚ “पार्टीको विधान विपरीत जाने र अनुशासनहीनलाई पार्टीले कारबाही गर्छ।”