कांग्रेस बैठकमा गगन र विश्वप्रकाशको चर्को आलोचना
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको चर्को आलोचना भएको छ।
कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा बुधबार बसेको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले महामन्त्रीद्वय थापा र शर्माको आलोचना गरेका हुन्। थापा र शर्माले ‘सस्तो लोकप्रियताका लागि सामाजिक सञ्जालमा पार्टीविरुद्ध लेख्ने’ गरेको केन्द्रीय सदस्यहरूको आरोप थियो।
दुवै महामन्त्री जिम्मेवार बन्न नसकेको केन्द्रीय सदस्यको आरोप थियो। “महामन्त्रीहरूले केटाकेटीपन देखाए, पार्टीभित्र बोल्नुपर्नेमा सामाजिक सञ्जालमा बोल्न थाले,” एक केन्द्रीय सदस्यले भने।
कुनै असन्तुष्टि भए पार्टीभित्रै छलफल गर्नुपर्ने केन्द्रीय सदस्यहरूको भनाइ थियो। पार्टीका नेता तथा कार्यकर्ताले सभापति र महामन्त्रीलाई गुनासो गर्नुपर्नेमा उल्टै महामन्त्रीहरू सामाजिक सञ्जालमा गुनासो सुनाउन थालेको केन्द्रीय सदस्यहरूको तर्क थियो।
बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेस प्रवक्ता प्रकशशरण महतले कुनै पनि नेताको असन्तुष्टि तथा गुनासो भए पार्टीभित्रै छलफल गर्नुपर्नेमा केन्द्रीय सदस्यले जोड दिएको बताए।
“पार्टीभित्र जति पनि चिन्ता, चासो या असन्तुष्टि छ भने पार्टी फोरमभित्र नै ती कुरा अभिव्यक्त गर्नुपर्छ। केन्द्रीय समिति र सम्बन्धित ठाउँमा त्यो अभिव्यक्त गर्नुपर्छ,” केन्द्रीय सदस्यहरूका भनाइ उद्धृत गर्दै महतले भने, “बाहिर यी कुराहरू लाँदा अन्योल सिर्जना हुने र त्यसले आउदो निर्वाचनलाई पनि मद्दत नगर्ने एकताको संदेश नजाने भएकाले त्यस्तो काम नगरौं भन्ने अधिकांश साथीहरूको सुझाव र दृष्टिकोण आएको छ।”
यससँगै सरकारका विषयमा पनि छलफल भएको उनले बताए। विगतका सरकारभन्दा अहिलेको सरकारले गरिरहेका काममा सन्तुष्टि जनाए पनि मूल्यवृद्धि रोक्ने, मलखादको व्यवस्था गर्ने विषयमा सरकारले काम गर्नुपर्ने सुझाव आएको उनले बताए।
बुधबारको बैठकमा केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह, रामशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, दिलेन्द्रप्रसाद बडू, एनपी साउद, ईश्वरी न्यौपाने, केशवकुमार बुढाथोकी, गोविन्द भट्टराई, सरिता प्रसाई, बहादुरसिंह (लामा) तामाङ, लक्ष्मी परियार, रामजनम चौधरी, कल्पना चौधरी, यज्ञराज जोशी, महेन्द्रकुमार राय, सञ्जयकुमार गौतम, आङ्गेलु शेर्पा, प्रदीपकुमार सुनुवार, अब्दुल सत्तार, राजीव ढुंगाना, राजीवबिक्रम शाह, डा. चन्द्रमोहन यादव, चम्पादेवी खड्का, मोहन आचार्य, मुक्ताकुमारी यादव, सरस्वती अर्याल तिवारी, जावेदा खातुन जागा, हरिशरण नेपाली, नगिना यादव, अजयवावु शिवाकोटी, मदनकृष्ण श्रेष्ठ, भीम पराजुली, कान्तिका सेजुवाल, गणेश लामा, रुपा विक, विद्यादेवी तिमिल्सीना र जीवन रानाले आ–आफ्नो धारणा राखेका छन्।
केन्द्रीय कार्यसमितिको बैठक असार ३० गते दिउँसो १ बजे फेरि बस्ने केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।