संघ र प्रदेशको चुनाव मंसीर २ मा गर्न प्रस्ताव
निर्वाचन आयोगले मंसीर २ गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्न प्रस्ताव गरेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आयोगको टोलीले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका विषयमा छलफल गरेको हो। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया नेतृत्वको टोलीले प्रतिनिधि र प्रदेश सभाको चुनाव आगामी मंसीर २ मा गर्न प्रस्ताव गरेको हो।
प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्मा छलफल गरी यस विषयमा छिटै निर्णय लिने बताएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। आयोगको सिफारिशमा सरकारले निर्वाचनको मिति तोक्ने व्यवस्था रहेको छ।
यसअघि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन २०७४ मा भएको थियो। प्रतिनिधि सभा र प्रदेश सभाको म्याद आगामी मंसीर २२ गते सम्पन्न हुने आयोगले जनाएको छ।