‘गठबन्धनबारे पुनर्मूल्याङ्कन नगरे संसदीय चुनावपछि कांग्रेसको अस्तित्व सङ्कटमा पर्छ’
नेपाली कांग्रेसका पुराना नेताहरूले आगामी प्रदेश र संघीय निर्वाचनमा गठबन्धनबारे पुनर्मूल्याङ्कन गर्नुपर्ने निचोड निकालेका छन्।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँगको भेटमा उनीहरूले यो गठबन्धनबारे पुनर्मूल्याङ्कन नगरे कांग्रेसको अस्तित्व नै सङ्कट पर्ने चेतावनी समेत दिएका छन्।
“गठबन्धनको पुनर्मूल्याङ्कन गरिनुपर्छ, होइन भने संघ र प्रदेशको निर्वाचनपछि कांग्रेस पार्टीको अस्तित्व नै सङ्कटमा पर्छ,” पुराना नेताहरूले कोइरालालाई दिएको सुझावबारे डा. कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले भने।
कांग्रेस पार्टी पार्टी जस्तो नरहेको मात्रै होइन, पार्टीभित्र आदर्श, इमान, त्याग र निष्ठाको राजनीति समाप्त भएर पार्टी ठेकेदारी प्रथामा चल्न थालेको र पुराना नेताहरूको योगदानको अवमूल्यन गरिएको पनि उनीहरूको निष्कर्ष छ। पार्टीभित्रको हरेक अवसरमा न्यायोचित व्यवस्थापन हुनुपर्ने सुझाव दिएको थपलियाले जानकारी दिए।
नेता कोइरालाले कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसी, नेताहरू तारानाथ रानाभाट, चिरञ्जीवी वाग्ले, ओमकार श्रेष्ठ, विनयध्वज चन्द, विपिन कोइराला लगायतसँग छलफल गरेका थिए।
पार्टी कमजोर अवस्थामा पुगेको र देशभरका कार्यकर्ता निराश रहेका वेला पदमा नभए पनि अनुभवका आधारमा आआफ्नो स्थानबाट पार्टीमा योगदान गर्न कोइरालाले आग्रह गरेका थिए।