कोरोना सङ्क्रमण बढ्यो, भेरियन्टबारे अध्ययन हुँदै
केही दिनयता कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ। शनिबार थप ४४ जनामा सङ्क्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भारतमा सङ्क्रमण बढेसँगै नेपालमा पनि सङ्क्रमण बढेको बताए। उनका अनुसार, ०.५ प्रतिशतमा झरेको सङ्क्रमणको दर अहिले बढेर ६ प्रतिशत पुगेको छ। भारतमा जस्तो सङ्क्रमितको सङ्ख्या तीव्र रूपमा नबढे पनि क्रमिक रूपमा बढ्दै गएको उनले बताए।
नेपालमा कोरोनाको सङ्क्रमण सबैभन्दा कम चार जनामा देखिएको थियो। त्यो सङ्ख्या बढेर आज ४४ पुगेको छ।
असार १ गते तीन हजार ९०५ जनामा परीक्षण गराउँदा २५ जनामा सङ्क्रमण देखिएको थियो भने असार १७ गते दुई हजार ८१४ जनामा परीक्षण गर्दा ५० जनामा सङ्क्रमण देखिएको थियो।
असार १६ गते ५५ जना, असार १५ गते ६२ जना, असार १४ गते ४४ जना, असार १३ गते ४१ जना, असार १२ गते २९ जना र असार ११ गते २७ जना सङ्क्रमित रहेका थिए। अहिले २९१ जना होम आइसोलेशन, ६ जना संस्थागत आइसोलेशन र तीन जना सघन उपचार कक्ष (आईसीयू) मा रहेका छन्।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले भारतमा सङ्क्रमण बढेका कारण नेपालमा पनि बढेको बताए। भारतबाट नेपालमा आउने मानिसमा सङ्क्रमण देखिएको उनको भनाइ छ। “सङ्क्रमण बढे पनि ग्राफमा ठूलो नदेखिएको हो,” डा. दासले भने, “हामीले जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्छ।”
उनले अहिले देखिएको सङ्क्रमण ओमिक्रोन भेरियन्टको पुरानै प्रजाति हो वा होइन भन्नेबारे राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अनुवांशिक (जीन सिक्वेन्सिङ) भइरहेको बताए। यसको एक–दुई दिनमा रिपोर्ट आउने उनले बताए।