पार्टी विभाजनबारे निर्णय गर्न उपेन्द्र यादवले बोलाए केन्द्रीय समिति बैठक
जनता समाजवादी पार्टी (जसपा)मा देखिएको विवादका विषयमा निर्णय गर्न केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको छ।
जसपा अध्यक्ष उपेन्द्र यादवले असार २७ र २८ गतेका लागि केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाएको केन्द्रीय कार्यालयका सचिव प्रकाश अधिकारीले बताए। उनका अनुसार, जसपा केन्द्रीय कार्यकारिणी समिति बैठक वीरगञ्जमा बस्ने गरी बोलाइएको हो।
अध्यक्ष यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीचको विवादले जसपा फूटको सँघारमा पुगेको छ। दुवै अध्यक्षबीच अलग हुने सहमति भएको सचेतक प्रमोद यादवले बताएका छन्।
जसपा केन्द्रीय कार्यकारिणी समिति बैठकमा ३३ सदस्य छन्। जसमध्ये १९ सदस्य अध्यक्ष यादवको पक्षमा देखिएका छन्। आफ्नो पक्षमा बहुमत देखिएपछि अध्यक्ष यादवले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको जनाइएको छ।
यसअघि संघीय परिषद् अध्यक्ष भट्टराई लगायतका नेताहरूले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाउन दबाब दिंदै आएका थिए। तर, अध्यक्ष यादवले टारिरहेका थिए। अहिले पार्टी विभाजनको सँघारमा पुगेपछि अध्यक्ष यादवले बैठक बोलाएका हुन्।