अदालतबाट भ्रष्टाचारी ठहर पूर्व सांसद कार्की वामदेवको पार्टीमा (फैसला सहित)
सर्वोच्च अदालतबाट तीन वर्ष पहिले भ्रष्टाचारी ठहर भएका डोलबहादुर (डीबी) कार्की वामदेव गौतमको नवघोषित पार्टीमा केन्द्रीय सदस्य बनेका छन्।
गौतमले घोषणा गरेको नेपाल कम्युनिष्ट पार्टी (एकता राष्ट्रिय अभियान)मा कार्कीलाई १८औं वरीयताको केन्द्रीय सदस्यमा राखिएको छ।
पहिलो संविधानसभाका सभासद् समेत रहेका कार्कीलाई २०७६ असार १७ गते सर्वोच्चका न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार रेग्मीको संयुक्त इजलासले भ्रष्टाचारी ठहर गरेको थियो। घूस रिसवत प्रकरणमा विशेष अदालत काठमाडौंले कार्कीलाई २०६७ चैत ६ गते दोषी ठहर गरेको थियो।
विशेष अदालतको फैसला विरुद्ध कार्की सर्वोच्च अदालतमा गएका थिए। सर्वोच्चले पनि विशेषकै फैसला सदर गरेको थियो। अदालतले उनलाई दुई महीना कैद सजाय र एक लाख रुपैयाँ जरिवाना ठहर गरेको थियो।
के थियो घटना?
२०६७ सालमा नेकपा (एमाले) नेता भीम रावल गृहमन्त्री तथा कार्की सोही पार्टीका सभासद् थिए। प्रहरी प्रधान कार्यालयले ८० जना प्रहरी निरीक्षकमा भर्ना खोलेको थियो।
प्रहरी निरीक्षकमा भर्ना हुन आवेदन दिएकामध्ये खोटाङका राजकुमार राईले २०६७ भदौ १४ गते तत्कालीन सभासद् कार्की र स्वामी ब्रह्मानन्द उदासीनले आफूसँग घूस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए।
उनले कार्की र उदासीनलाई पाँच लाख घूस दिने सहमति गरेका थिए। जसमध्ये तीन लाख दिइसकेका थिए। बाँकी दुई लाखमध्ये एक लाख दिने क्रममा राईले अख्तियारलाई खबर गरेका थिए।
घूस लिएपछि कार्कीले ‘सीडीओ डीबी कार्की, अन्तर्वार्ता आज १० गतेका लागि १ मात्र अनुरोध छ, जसरी भए पनि पास गरी दिनु हुन अनुरोध छ’ भनी हस्ताक्षर गरेका थिए। कार्कीले अदालतमा इन्कारी बयान दिएर हस्ताक्षर आफ्नो नभएको दाबी गरेका थिए। तर, केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालाबाट परीक्षण गर्दा हस्तलिपि र हस्ताक्षर दुवै डीबी कार्कीकै भएको ठहर भएको थियो।
विशेष अदालतका न्यायाधीशहरू गौरीबहादुर कार्की, ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेले घूस रिसवत प्रकरणमा तत्कालीन सांसद कार्कीलाई दोषी ठहर गरेको थियो। उनै कार्कीलाई वामदेव गौतमले आफ्नो पार्टीको नेता बनाएका हुन्।
डीबी कार्कीलाई सजाय सुनाइएको फैसला: