काठमाडौंमा थप दुई जनामा देखियो हैजा
काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा देखिएको छ। योसँगै हैजाका बिरामीको सङ्ख्या १४ पुगेको छ।
बुधबार गृह मन्त्रालयले आयोजना गरेको मौसम पूर्व तयारी तथा प्रतिकार्य बैठकमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले हैजा सम्बन्धी जानकारी दिएका हुन्।
उनका अनुसार, बुधबार थप दुई जनामा हैजा देखिएको हो। यसअघि १२ जनामा हैजा देखिएको थियो।
हैजाका दुई बिरामीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको डा. दासले बताए।
हैजाका पहिलो बिरामीको अवस्था अत्यन्त जटिल देखिएपछि सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको उनले बताए। असार ५ गते बागबजारमा बसोबास गर्ने दुई जनामा हैजा देखिएको थियो।
पछिल्लो पटक बागबजारसँगै डिल्लीबजार र सानेपा क्षेत्रका १२ जनामा हैजा देखिएको हो। अहिलेसम्म हैजा देखिएका १४ जनामध्ये आठ जना निको भइसकेका छन्। अन्यको उपचार भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।