वामदेव गौतमको नेतृत्वमा नयाँ पार्टी घोषणा
वामदेव गौतमको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा भएको छ। मंगलबार काठमाडौं पत्रकार सम्मेलन गरी गौतमले पार्टी घोषणा गरेका हुन्।
घोषणा सभामा गौतमले पार्टीको मुख्य उद्देश्य नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लाई एकीकरण गर्नु रहेको बताए। एकीकरण गर्न नसके प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा कार्यगत एकताको वातावरण बनाउने उनको भनाइ छ। यस्तै‚ उक्त तीन पार्टी सहित राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी समेतको बृहत् वामपन्थी चुनावी मोर्चा निर्माण गर्ने पनि पार्टीको उद्देश्य रहेको गौतमको भनाइ छ।
गौतम नेतृत्वको पार्टीको केन्द्रीय कमिटी ७५ सदस्यीय रहेको छ। दैनिक पार्टी सञ्चालनका लागि बढीमा १५ जना रहने स्थायी कमिटी निर्माण हुने जनाइएको छ। यस्तै‚ बहुपदीय प्रणालीको पार्टीमा एक अध्यक्ष, प्रत्येक प्रदेशमा इन्चार्जको जिम्मेवारी वहन गर्ने गरी सात उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव, एक कोषाध्यक्ष र एक सचिव रहने व्यवस्था गरिएको छ।
एकीकरणको भूमिका निर्वाह गर्दासम्म पार्टीका सम्पूर्ण ढाँचा समन्वय समितिका रूपमा रहने गौतमले बताए। त्यस्तो अवस्थामा हरेक कमिटीका प्रमुख पदमा संयोजक र सचिवको व्यवस्था गरिनेछ।
यस्तै‚ दैनिक कार्यसम्पादनका लागि एक सचिवालय रहनेछ। अन्य पार्टीहरूसँग एकता संवादका लागि वामदेव गौतमको संयोजकत्वमा सचिवालयका सदस्यहरू सम्मिलित वार्ता टोली छिटै निर्माण गरिने जनाइएको छ।
पार्टी समन्वय समितिका रूपमा रहँदासम्म आठ सदस्यीय केन्द्रीय सचिवालय रहने गौतमले बताए।केन्द्रीय सचिवालयमा गौतम सहित डीबी कार्की, ओम शर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निमकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल रहने जानकारी दिइएको छ।