बाढीले झापाका अढाई सय घर उच्च जोखिममा
अविरल वर्षापछि नदी तथा खोलामा आएको बाढीले झापाका विभिन्न स्थानीय तहका २५० घर उच्च जोखिममा परेका छन्। नदी तथा खोलामा पानीको बहाव बढ्दा जमीन कटान शुरू भएको छ।
कमल गाउँपालिकाका वडा नं ५, ६ र ७ मा रतुवा नदीले कटान गर्न शुरू गरेको रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए। त्यस्तै, कमल–६ को खयरबारीमा जनताको तटबन्ध अन्तर्गत निर्माण गरिएको बाँधमा पनि कटान शुरू भएको छ ।
कमलका घनश्याम धिमाल र धनमाया तामाङको दुई वटा सुँगुर फार्म बगाएको छ। वडा नं ६ र ७ का घरपरिवार जोखिममा रहेको रेडक्रस झापाले जनाएको छ। कमल खोलाले केम्पा बजारपूर्व कमलपुल घाटउत्तर पुरानो बाँध समेत भत्काएको छ।
यता, रतुवा खोलाले गौरादह नगरपालिका वडा नं ५ र ६ को कोहवरा उत्तर टङ्वाका करीब ६० घर डुबानमा परेका छन्। गौरादह–६ को लेलिया डाँगीमा १२५ घरको दुवैतर्फबाट रतुवाखोला बगेकाले उच्च जोखिममा परेका छन्। गौरादह–६ कै दामुना खोला सुकुम्बासी बस्तीमा पस्दा ३५ घर उच्च जोखिममा छन्।
वर्षाका कारण शिवसताक्षी नगरपालिका–४ सन्थाल बस्ती (सुकुम्बासी बस्ती) मा कमल–बनियानी खोलाको पानी पसेको छ। खोला बस्ती पस्दा त्यहाँका ३० घर डुबानमा परेका छन्। बस्तीमा करीब चार फिट पानी पसेपछि बस्तीका १०६ जनालाई स्थानीय त्रिभुवन मावि राखिएको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ। -रासस