मैले नीतिगत क्षेत्रमा गरेको रूपान्तरण ठूलो ‘डिपार्चर’ हो: रामकुमारी झाँक्री
पूर्व शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नीतिगत रूपमा आफूले ठूलो रूपान्तरण गरेको बताएकी छन्।
मन्त्रीबाट राजीनामा दिएको भोलिपल्ट सोमबार सामाजिक सञ्जाल मार्फत आफ्ना भनाइ राख्दै पूर्व मन्त्री झाँक्रीले नीतिगत क्षेत्रमा गरेका कामलाई ठूलो ‘डिपार्चर’ भनेकी छन्। झण्डै नौ महीनाको कार्यकालमा सक्दो काम गरेको उनको भनाइ छ।
“कार्यपालिका मात्र होइन, न्यायपालिका, व्यवस्थापिका जस्ता राज्यका अङ्गहरूका प्रमुखज्यूहरूसँग सार्वजनिक सरोकारका विषयहरूमा पटक पटक परामर्श गरेर इमानका साथ सोझो मनले, जनताको भलो चिताएर आफ्नो शतप्रतिशत कर्म लगाएर मन्त्रालयबाट बिदा भएकी छु। त्यसका परिणामहरू आइरहेका छन्, आइरहनेछन्,” झाँक्रीले भनेकी छन्, “मैले नीतिगत क्षेत्रमा गरेको रूपान्तरण ठूलो ‘डिपार्चर’ हो भन्नेमा दुई मत छैन।”
नेकपा (एकीकृत समाजवादी) नयाँ मन्त्री पठाउने निर्णय गरेपछि उनले आइतबार मन्त्रीबाट राजीनामा दिएकी थिइन्। एकीकृत समाजवादीबाट नयाँ नियुक्त मन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ लिइसकेका छन्।
मन्त्रालयबाट बिदा भए पनि जनताले आफूप्रति गरेको विश्वासलाई जोगाइराख्ने उनले बताएकी छन्। “मप्रति आशावादी हुने सम्पूर्ण बुद्धिजीवी, पत्रकार र आम नागरिकप्रति हार्दिक धन्यवाद! म तपाईंहरूको आशालाई निराश हुन दिनेछैन भन्ने सङ्कल्प लिंदै अगाडि बढ्नेछु।”