पेटमा अड्किएको चम्चा शल्यक्रिया विना निकालियो
थापाथलीस्थित नर्भिक अस्पतालका चिकित्सकले शल्यक्रिया विना आमाशयमा अड्किएको चम्चा निकालेका छन्।
नर्भिक अस्पतालका पाचन रोग विशेषज्ञ तथा पाचन रोग केन्द्रका प्रमुख डा. सन्दीपराज कुँवर नेतृत्वको टोलीले शल्यक्रिया विना इन्डोस्कोपी गरी आमाशयमा अड्किएको चम्चा निकालेको हो।
काठमाडौंकी १७ वर्षीया किशोरीले झुक्किएर निलेको चम्चा निकालिएको डा. कुँवरले बताए। डा. कुँवर नेतृत्वको टोलीले यसअघि बच्चाले झुक्किएर निलेको सिक्का, पिन तथा घाँटीमा अड्किएको हड्डी शल्यक्रिया विना निकाल्दै आएको छ।
आमाशयमा अड्किएको चम्चा ४५ मिनेटको प्रयासमा निकालिएको हो। “आन्द्रातिर जान नपाएको अवस्थामा सुरक्षित ढङ्गले चम्चा निकालेका हौं,” उनले भने।
किशोरीलाई सोमबार अस्पतालबाट डिस्चार्ज गरिएको छ।