दाङका दुई महिला सीमा क्षेत्रको भारतीय बजारमा बलात्कृत
नेपाल-भारत सीमावर्ती बजार भारतको मनीपुरमा दाङका दुई युवतीमाथि सामूहिक बलात्कार भएको छ।
आइतबार दिउँसो मनीपुर बजारबाट घर फर्किने क्रममा दाङको राजपुर गाउँपालिकाका दुई महिलालाई भारतीय युवाहरूले सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मुकुन्द रिजाल बताए।
“६ जना महिला भारतीय बजारबाट फर्किंदै हुनुहुन्थ्यो,” रिजालले भने, “दुई जनालाई सामूहिक बलात्कार गरेको र चार जनालाई लुटपाट गरेछन्।” पीडित महिलाहरू प्रहरीको सम्पर्कमा आएपछि घटना बाहिर आएको हो।
बलात्कार गरेको आरोपमा चार भारतीय नागरिक पक्राउ परेको डिएसपी रिजालले जानकारी दिए। भारतको उत्तर प्रदेशको बलरामपुर जिल्लाको हरैया थानाले घटनामा संलग्न चार जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको उनको भनाइ छ।
भारतीय भूमिमा घटना भएकाले सोही ठाउँको हरैया थानामा पीडितहरूले जाहेरी दिएपछि कानूनी प्रक्रिया अघि बढ्ने डिएसपी रिजालले बताए।