भीम रावलको प्रश्न–एसपीपी चाहिंदैन भनेर पत्राचार गरियो?
नेकपा (एमाले) नेता भीम रावलले स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) खारेज गर्न तत्काल अमेरिकालाई पत्र पठाउनुपर्नेमा जोड दिएका छन्।
आइतबार बसेको प्रतिनिधि सभा बैठकमा रावलले एसपीपी चाहिंदैन भनेर नेपाल सरकारले अमेरिकालाई अहिलेसम्म पत्र नपठाएको बताए। बैठकमा उनले भने, “एसपीपी चाहिंदैन भनेर पत्राचार गरियो कि गरिएन, प्रधानमन्त्रीज्यूबाट ठोस जवाफ चाहियो।”
मन्त्रिपरिषद्को असार ६ गते बसेको बैठकले एसपीपी अगाडि नबढाउन अमेरिकालाई पत्राचार गर्ने निर्णय गरेको थियो।
नेपाली सेनाले २०७२ र २०७४ मा पठाएको पत्रका आधारमा नेपाल युटा न्याशनल गार्ड स्टेट पार्टनरशिप प्रोग्राममा जोडिएको अमेरिकाले बताउँदै आएको छ। विभिन्न डकुमेन्टहरूले एसपीपी हिन्द–प्रशान्त रणनीति (आईपीएस)को अङ्ग भएको देखाएका छन्।
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले यसअघि नै एसपीपी खारेज गर्न सरकारलाई निर्देशन दिएको थियो।