एकता अभियानलाई नै पार्टी बनाउने वामदेव गौतमको प्रस्ताव
वामदेव गौतमले नेकपा एकता राष्ट्रिय अभियानलाई नै पार्टीका रूपमा अघि बढाउने प्रस्ताव गरेका छन्।
काठमाडौंमा शनिबार शुरू भएको नेकपा एकता राष्ट्रिय अभियानको राष्ट्रिय भेलामा यसलाई पार्टीका रूपमा अघि बढाउने गौतमले प्रस्ताव गरेका हुन्। उनले केन्द्रदेखि वडासम्म कमिटी गठन गर्ने बताएका छन्।
“नेकपा एकता राष्ट्रिय अभियानलाई नेकपा एकता संयोजन समितिमा रूपान्तरण गरौं कि भन्ने सोचेको थिएँ। केही दिन विचार गरेपछि मैले संशोधन गरेको छु,” राष्ट्रिय भेलालाई सम्बोधन गर्दै गौतमले भने, “नेकपा एकता राष्ट्रिय अभियान जारी राख्नुपर्छ, यो पार्टीका रूपमा लैजानुपर्छ।”
यससँगै उनले वडा तहसम्म कमिटी गठन गरेर काम गर्नुपर्ने बताएका छन्। गौतमले भने, “यसको केन्द्रीय कमिटी, यसको प्रदेश कमिटी, जिल्ला समन्वय कमिटी, पालिका कमिटी र वडा कमिटीहरू बनाउनुपर्छ।”
यसको मूल उद्देश्य भने कम्युनिष्ट पार्टीलाई एकीकृत गर्ने रहेको उनको भनाइ छ। यसका लागि उपयुक्त व्यक्ति आफूभन्दा अर्को नभएको उनको जिकिर छ।
“नेपालको कम्युनिष्ट आन्दोलन अहिलेको अवस्थामा एकतामा ल्याउनका लागि एउटा मध्यस्थकर्ताको खाँचो छ। त्यो मध्यस्थकर्ता बन्न सबभन्दा उपयुक्त को हुन सक्छ?,” गौतमले भने, “मैले सोचें, मेरो प्रशंसा मैले गर्दिनँ, तर म जतिको उपयुक्त अर्को छैन।”
त्यसैले आफू यो अभियानमा लागेको उनको भनाइ छ। “मैले त्यो जिम्मेवारी लिनुपर्छ। म त्यसका लागि जुनसुकै त्याग गर्न तयार छु,” गौतमले भने।
आगामी चुनाव अगावै नेकपा एकता गर्ने अभियानमा आफू लाग्ने उनको भनाइ थियो।