वैदेशिक रोजगारीमा दुबई पुगेका युवक अलपत्र
वैदेशिक रोजगारीका लागि दुबई पुगेका खोटाङका दुई युवक अलपत्र परेका छन् भने घर आउन पनि पाएका छैनन्।
सिकर्मीको काम गर्ने सम्झौतामा बराहपोखरी गाउँपालिका–१ बराहपोखरीका शेरबहादुर खत्री र दिलकेशर राई गत पुस १९ गते दुबई गएका थिए। तर, सम्झौता अनुसारको कम्पनी, काम र तलब नपाउँदा उनीहरू अलपत्र परेको दिलकेशरका भाइ पूर्णबहादुर राईले बताए।
काठमाडौंको गोंगबुस्थित फिस्टल ओभरसिज प्रालिले उनीहरूलाई सिकर्मीको कामका लागि दुबईको कावाडर इन्टरनेशनल इम्प्लोइमेन्ट सर्भिसेसमा पठाएको थियो। तर, अर्कै सप्लाई कम्पनीमा पुर्याइएको पूर्णबहादुरले बताए।
महीनामा केही दिन मात्रै काममा लगाउने गरेको जनाइएको छ। त्यसमा पनि सम्झौता अनुसार तलब नपाउने गरेको उनीहरूले बताएका छन्। उनीहरू मासिक एक हजार २५० दिराम पाउने शर्तमा दुबई पुगेका थिए। अहिले खान–लाउन पनि नपुग्ने उनीहरूले बताएका छन्।
ढाँटेर अर्कै कम्पनी र काममा लगेको थाहा पाएपछि उनीहरू घर फर्किन खोजिरहेका छन्। दुबई पुगेको तेस्रो दिनमै घर फर्किन खोजे पनि मेनपावर कम्पनीले वास्ता नगरेको उनका भाइ पूर्णबहादुरले बताए।
“अर्कै कम्पनी र काममा लगेको थाहा भएपछि तेस्रो दिनदेखि नै फर्कन खोजिरहनुभएको छ,” उनले भने, “तर, भोलि–पर्सि भन्दै ढाँटिरहेको छ। फर्काउँछु भन्दै भाका राखेको राख्यै छ।”
केही दिन बिरामी पर्दा पनि कम्पनीले उपचार नगरेको उनीहरूले गुनासो गरेका छन्।