ओलीलाई प्रधानमन्त्री देउवाको प्रश्न- त्यति वेला नै ईपीजी प्रतिवेदन किन बुझिएन?
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताएका छन्।
उनले नेपालको भूमि अन्य कुनै छिमेकी विरुद्ध प्रयोग हुन नदिन नेपाल सरकार सचेत रहेको समेत बताए। प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रमका विषयमा उठेका प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री देउवाले भने, “विगतमा चीन विरुद्ध नेपालमा सक्रिय संस्थालाई म प्रधानमन्त्री भएका वेला रोक लगाएको सम्झाउन चाहन्छु।”
शुक्रबार प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको परराष्ट्र नीति असन्तुलित रहेको भन्दै सरकारसँग यसको जवाफ मागेका थिए। उनले भनेका थिए, “नेपाल एक चीन नीतिमा प्रतिबद्ध छ कि छैन? एउटाको विरुद्ध अर्कोलाई भूमि प्रयोग गर्न नदिनेमा अडिग छ कि छैन?”
एमाले अध्यक्ष ओलीलाई जवाफ दिंदै प्रधानमन्त्री देउवाले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताएका हुन्। उनले बीआरआई लगायत परियोजना कार्यान्वयनका विषयमा राष्ट्रिय आवश्यकता, क्षमता, उपादेयता हेरेर बुद्धिमत्तापूर्वक उचित निर्णय गरिने बताए। एमाले अध्यक्ष ओलीले बीआरआई परियोजना कार्यान्वयनको विषय पनि उठाएका थिए।
प्रधानमन्त्री देउवाले लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालकै रहेको दोहोर्याएका छन्। एमाले अध्यक्ष ओलीले लिम्पियाधुरा र कालापानीबारे पनि सरकारको धारणा मागेका थिए।
त्यसै गरी प्रधानमन्त्री देउवाले नेपाल-भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदन बुझ्ने वातावरण तयार पारिने बताए। एमाले अध्यक्ष ओलीतर्फ लक्षित गर्दै प्रधानमन्त्री देउवाले भने, “त्यति वेला नै यो प्रतिवेदन बुझ्नुपर्थ्यो, किन बुझिएन?”