माधव नेपालको प्रश्न– जङ्गलै नभएको निजगढमा विमानस्थल बनाउन रोक्नुको कारण के हो?
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक लगाउने सर्वोच्च अदालतको फैसलालाई दुःखद भनेका छन्।
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले प्रतिनिधि सभाको शुक्रबार बसेकाे बैठकमा बोल्दै गहिरो अध्ययन गरेर सबैभन्दा उपयुक्त ठहर भएर काम अगाडि बढिसकेको अवस्थामा त्यसलाई रोक्न सही नहुने धारणा राखे।
संसदीय समिति मार्फत आफू स्थलगत अध्ययनमा जाँदा विमानस्थल बनाउने स्थानको रूख विनाश भइसकेको बताए। “जङ्गलै नभएको निजगढमा विमानस्थल बनाउन रोक्नु पछाडिको कारण के हो?” अध्यक्ष नेपालले भने, “कतै अरू अरू चीजबाट हामी प्रभावित त भएका छैनौं।”
यो विषयलाई अदालत, सरकार र राजनीतिक दलहरूले गम्भीर रूपमा लिनुपर्ने उनले बैठकमा बताए। सबै हिसाबले अन्तर्राष्ट्रिय विमानस्थलका लागि निजगढ नै उपयुक्त भएकोमा उनले जोड दिए।